चितवनले दोस्रो सिजनमा आएर बल्ल जित्यो, लगातार दुई हार बेहोर्ने दोस्रो टोली बन्यो वीरगञ्ज



बिजमाण्डू
२०८० मंसिर १५ गते १९:४२ | Dec 1, 2023
चितवनले दोस्रो सिजनमा आएर बल्ल जित्यो, लगातार दुई हार बेहोर्ने दोस्रो टोली बन्यो वीरगञ्ज
एफसी चितवनका खेलाडी

काठमाडौं। एफसी चितवनले नेपाल सुपर लिगमा पहिलो जित निकालेको छ। दोस्रो सिजनमा आएर पहिलो जित निकाल्ने क्रममा चितवनले शुक्रबार वीरगञ्ज युनाइटेडलाई २-१ गोलले हराएको छ।

Tata
GBIME
Zonsen

अघिल्लो सिजन चितवन ६ खेलमा २ बराबरी र ४ हार बेहोहोर्दै बाहिरिएको थियो। जारी संस्करणमा पनि पहिलो खेलमा पोखरा थण्डर्ससँग १-० गोलले पराजित चितवन दोस्रो खेलमा काठमाडौं रेजर्ससँग १-१ गोलको बराबरीमा रोकिएको थियो।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलमा चितवनले २९ औं मिनेटमा विमल घर्तीमगरको गोलमा अग्रता लियो। रोशन रानामगरको क्रसमा विमलले वान भर्सेस वानको अवस्थामा गोल गरेका हुन्।

पहिलो हाफमा एक गोलले पछि परेको वीरगञ्ज दोस्रो हाफमा पुनरागमन गर्न सफल भयो। विलियम ओपोकुको कर्नरमा ५५ औं मिनेटमा एइकिन्स केयीले हेडरमार्फत बराबरी गोल फर्काए।

तर वीरगञ्जले बराबरी धेरै समय जोगाउन सकेन। ५८ औं मिनेटमा बक्सभित्र पाएको क्रस लिन नसक्दा विमल गोल थप्न चुकेपनि ६८ औं मिनेटमा टोरिक जेब्रिनले उत्कृष्ट गोल गरे। उनले डिबक्स बाहिरबाट गोल गरेपछि चितवनले २-१ को अग्रता लियो।

त्यसपछि दुवै टोलीबाट गोल हुन सकेन र चितवन विजयी भयो। वीरगञ्ज जारी लिगमा लगातार दुई हार बेहोर्ने दोस्रो टोली बनेको छ। वीरगञ्जले यसअघि धनगढी एफसीसँग २-१ गोलको हार बेहोरेको थियो। जारी लिगमा यसअघि बुटवल लुम्बनी एफसी पनि दुई खेलमा पराजित भइसकेको छ।