
काठमाडौं। सामाजिक उद्यमशीलता विकासका लागि नबिल बैंकले सुरु गरेको ‘नबिल एसएसई’ कार्यक्रमले दोस्रो वार्षिकोत्सव मनाएको छ।
त्रिभुवन विश्वविद्यालयको स्कुल अफ म्यानेजमेन्टसहित विभिन्न विद्यालयबाट देशभर सञ्चालन गरिएको कार्यक्रम सामाजिक उद्यमशीलता बढाउन उत्प्रेरक बनेको सरोकारवालाले बताएका छन्।
दुई वर्षको अवधिमा तीन सय ३५ विद्यार्थीले कार्यक्रममा सहभागिता जनाएको तथा ५२ वटा उद्यम सुरु भइ ८६९ जनाले रोजगारी पाएको नबिल बैंकले जनाएको छ।
नबिल बैंकका अध्यक्ष उपेन्द्र पौड्यालले कार्यक्रमका कारण सामाजिक वित्त प्रवर्धनमा बैंकको भूमिका थप बढेको बताए। ‘बैंकले सुरु गरेको यस पहलले देशको सामाजिक, वातावरणीय र आर्थिक विकासका लागि सामाजिक वित्त प्रवर्धन गर्न मद्दत पुगेको विश्वास लिएका छौं,’ अध्यक्ष पौड्यालले भने।
उनले जनताको जीवनस्तरमा सुधार ल्याउन बैंकले यस्ता कार्यक्रमलाई निरन्तरता दिनुका साथै विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे।
बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले सामाजिक उद्यमीलाई प्रवर्धन गर्ने उद्देश्यले कार्यक्रम सुरु गरिएको जानकारी गराउँदै उद्देश्य पूर्ति भएको बताए। ‘हामी दिगो बैंकिङ र सामाजिक उद्यमशीलतामार्फत समाजमा उल्लेखनीय परिवर्तन ल्याउन हामी प्रतिबद्ध छौं‚’ उनले भने।
नवीन विचार भएका नागरिकलाई ज्ञान, वित्तीय पहुँच, र सामाजिक उद्यम सुरु गर्नका साथै उद्यमशीलतामा दिगोपना दिन र सञ्जाल विस्तार गर्न यो कार्यक्रम सहयोगी भएको उद्यमीहरूले बताएका छन्। नबिल एसएसई अन्तर्गत फेलोसिप र सर्टिफिकेट कोर्स गरी दुई कार्यक्रम छन्।
नबिल एसएसई फेलोहरूको सफलताका कथा अहिले सबैका लागि प्रेरणादायी बनेको भन्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिन सरोकारवालाले सुझाएका छन्। यस कार्यक्रममा सहभागीहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रतिष्ठित पुरस्कार पाउन सफल भएका छन्। उनीहरुले उद्यमशीलता विकासमा उदाहरणीय काम गरेका छन्।
कार्यक्रममा सहभागी भएका उद्यमी राजविक्रम महर्जन आइसिटी अवार्ड २०२२ र स्टार्ट अप वर्ल्डकप जित्न सफल भएका छन्। महर्जनले भने, ‘कार्यक्रममा भर्ना भएपछि मैले आफ्नो व्यावसायिक विचार, ब्रान्डिङ्, मार्केटिङ र नेटवर्किङका अवसरहरूमा ध्यान केन्द्रित गर्न सिकें, जसले मलाई धेरै मद्दत गर्यो।’