बीबी एयरवेजलाई दुई सातामा ‘एनओसी’, उडान एक महिनापछि, भैरहवाबाट पनि उडान गर्ने

वसन्तराज उप्रेती
२०८० मंसिर १२ गते १५:०१ | Nov 28, 2023
बीबी एयरवेजलाई दुई सातामा ‘एनओसी’, उडान एक महिनापछि, भैरहवाबाट पनि उडान गर्ने

काठमाडौं। नेपाली उड्डयन उद्योगमा फिक्स विङतर्फ दुईवटा वायुसेवा कम्पनी थपिने भएका छन्। अन्तर्राष्ट्रिय उडानका लागि बीबी एयरवेजलाई दुई साताभित्र नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) दिने तयारी छ। एनओसी उडान सञ्चालनको अनुमति हो।

Tata
GBIME
NLIC

बीबी एयरवेजलाई एनओसी दिने प्रक्रिया अन्तिम चरणमा रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका एक अधिकृतले बताए। ‘कम्पनीले दुई साताभित्र एनओसी पाउनेछ। त्यसलगत्तै कम्पनीले जहाज ल्याएर डेमोन्स्ट्रेसन फ्लाइट गर्नुपर्ने हुन्छ,’ उनले भने।

बीबी एयरवेजले प्राधिकरणमा दुई वटा एयरबस ३२० ‘न्यारोबडी जहाज’ ल्याएर व्यावसायिक उडान गर्ने योजना पेश गरेको छ।        

प्राधिकरणबाट एनओसी प्राप्त गरेलगत्तै जहाज ल्याउने योजना रहेको कम्पनीका प्रशासन प्रमुख श्रीष शर्माले बताए। ‘हामी लगभग एनओसी पाउने चरणमा पुगिसकेका छौं। एनओसी पाएलगत्तै जहाज ल्याएर आउँदो जनावरीबाट नियमित व्यावसायिक उडान गर्ने तयारी छ,’ उनले भने, ‘हामीले काठमाडौंका साथै भैरहवाबाट पनि व्यावसायिक उडानको योजना बनाएका छौं।’

भैरहवा-मलेसिया उडान गर्नका लागि कम्पनीले गृहकार्य सुरु गरिसकेको छ।

एयरवेजले केही कर्मचारी भर्ना गरिसकेको छ। शर्माका अनुसार सुरेशमान सिंह सीईओ, केबी थापा क्यामो डाइरेक्टर र वरिष्ठ क्याप्टेन ओबी गुरुङ अपरेसन डाइरेक्टर नियुक्त भएका छन्।

यस्तै देशभित्र चेक पाइलटको अभाव रहेकाले कम्पनीले श्रीलंकाका एक वरिष्ठ क्याप्टेन झिकाएको छ। विदेशी क्याप्टेनको श्रम स्वीकृतिको प्रकृया बाँकी छ।

११ वर्षअघि स्थापना भएको बीबी एयरवेजको उडान तीन महिनामै बन्द भएको थियो। कम्पनीले पुन: उडान सेवा सञ्चालनका लागि गत वर्ष फागुनमा इजाजत पत्र नवीकरण गराएको थियो।

यस्तै शिवम एयरलाई उडान सञ्चालन गर्न दिन अनुमतिपत्र प्रक्रिया अगाडि बढाइएको छ। शिवमलाई दुर्गम क्षेत्रमा उडानका लागि अनुमति दिन लागिएको हो। ‘अहिले प्रारम्भिक चरणको मूल्यांकनको काम भइरहेको छ,’ प्राधिकरणका एक कर्मचारीले भने।  

कम्पनीले ३ वटा लेट ४१० जहाजमार्फत विभिन्न दुर्गम गन्तव्यमा उडान गर्ने योजना पेश गरेको छ।