कमोडिटी एक्सचेन्जको लाइसेन्स दिन अध्यक्ष हमाललाई हतारो, अपर्झट डाके संचालक समिति बैठक



बिजमाण्डू
२०८० मंसिर १२ गते १४:२६ | Nov 28, 2023
कमोडिटी एक्सचेन्जको लाइसेन्स दिन अध्यक्ष हमाललाई हतारो, अपर्झट डाके संचालक समिति बैठक

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले कमोडिटी एक्सचेन्जलाई अनुमति दिन हतार हतार संचालक समिति बैठक डाकेका छन्।

Tata
GBIME
Zonsen

आज अपराह्न साढे ४ बजे डाकिएको बैठकमा कमोडिटी एक्सचेन्ज सिफारिस समितिको प्रतिवेदन ग्रहण गर्ने एजेण्डा छ। हमालको कार्यकाल पुस मध्यमा सकिँदैछ। कार्यकाल सकिनुअघि नै हमाल कमोडिटी र नयाँ स्टकको लाइसेन्स दिने योजनामा छन्। त्यसैले आज हतार हतार बैठक डाकिएको हो।

थाइल्याण्डमा काम गरेर फर्किएका हमाललाई नमोबुद्धमा दुषित थानी रिसोर्ट निर्माण गर्दागर्दै कमोडिटी एक्सचेन्ज र नयाँ स्टक एक्सचेन्जको अनुमति दिनकै लागि दुई वर्षअघि बोर्डमा ल्याइएको थियो।

हमालले सोमबार केही सीमित कर्मचारीसँग छलफल गरेर एजेण्डा तयार गर्न लगाएर मंगलबार बैठक डाकेका हुन्। संचालकहरुलाई भने मंगलबार कार्यालय समयमा मात्रै जानकारी दिइएको थियो। अपर्झट संचालक समिति बोलाइएपछि जिल्ला बाहिर रहेका संचालक हतार हतार काठमाडौं आइरहेका छन्।

‘कमोडिटी एक्सचेन्जको लाइसेन्सका लागि आशयपत्र दिन हतार भएको रहेछ। अष्ट्रेलियाबाट फर्किने बित्तिकै उहाँ आइतबार अर्थमन्त्री डा. प्रकाशशरण महत भेट्न पुग्नुभएको थियो,’ बोर्डका एक कर्मचारीले बिजमाण्डूलाई भने, ‘सोमबार सकेसम्म मंगलबार नभए बिहीबारसम्म बैठक राख्ने मनसाय थियो।’

ती कर्मचारीका अनुसार यही बैठकले दुई कमोडिटी एक्सचेन्जलाई आशयपत्र दिनेछ। कमोडिटी एक्सचेन्जको आवेदन मूल्यांकन समितिले हिमालयन कमोडिटिज एण्ड डेरिभेटिभ एक्सचेन्ज र मल्टी एसेट्स एण्ड डेरिभेटिभ एक्सचेन्जलाई अनुमति दिन सिफारिस गरेको छ। त्यही सिफारिसको आधारमा सम्भवत: आजै यी दुई वटा कमोडिटी एक्सचेन्जले आशयपत्र पाउनेछन्।

बोर्डले कानुन मन्त्रालयका सहसचिव फणीन्द्र गौतमको संयोजकत्वमा समिति गठन गरेको थियो। सचिवमा पदोन्नति भएपछि उनले ‘ब्याक डेट’मा दुईवटा कमोडिटी एक्सचेन्जलाई अनुमति दिन सिफारिस गरेका थिए।

गौतम कानुन मन्त्रालयका सहसचिव भएका आधारमा बोर्डमा संचालक समितिमा थिए। त्यही आधारमा बोर्डले बनाएको समितिको संयोजक बनेका थिए उनी। सचिवमा बढुवा भएपछि उनी स्वत: संचालकमा रहन पाउँदैनन्। त्यही भएर उनले ‘ब्याक डेट’मा हस्ताक्षर गरेर दुई कमोडिटीको मूल्यांकन गर्दै सिफारिस गरेका हुन्।

बोर्ड उच्च स्रोतका अनुसार गौतमले असोज १२ गते सिफारिसमा हस्ताक्षर गरेका हुन्। गौतमलाई भदौ २१ गतेको मन्त्रिपरिषद् बैठकले सचिवमा बढुवा गर्दै सत्य निरुपण तथा मेलमिलाप आयोगको सचिवमा पदस्थापन गर्ने निर्णय गरेको थियो।

बोर्ड स्रोतका अनुसार गौतमले हिमालयनलाई ८२ र मल्टी एसेट्सलाई ८० अंक दिएका छन्। हिमालयनमा इन्फिनिटी होल्डिङका दीपक भट्ट, शंकर ग्रुपका सुलभ अग्रवाल, गोल्छा समूहका शेखर गोल्छा लगायतको लगानी छ भने मल्टि एसेट्समा विक्रम पाण्डे, कृष्णकुमार अग्रवाल, दिकेश मल्होत्रा, परितोष गुप्ता र संस्थागत रुपमा लक्ष्मी बैंकको लगानी छ।

समितिमा गौतमबाहेक अर्थ मन्त्रालयका सहसचिव रितेश शाक्य, राष्ट्र बैंकका कार्यकारी निर्देशक मुकुन्दकुमार क्षेत्री, बोर्डको नियमन विभागका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ र बोर्डकै धितोपत्र दलाल व्यापार महाशाखाकी उपकार्यकारी निर्देशक दीपा दाहाल सदस्य थिए। कमोडिटी एक्सचेन्ज संचालनका लागि नेपाल मल्टी कमोडिटी र मल्टी डेरिभेटिभ एक्सचेन्जले पनि आवेदन दिएका थिए।