संकटमा दाना उद्योग : उत्पादन अधिक तर माग कम, कच्चापदार्थको मूल्य बढ्दा थप घाटामा

अनन्तराज न्यौपाने
२०८० मंसिर १२ गते ०६:५१ | Nov 28, 2023
संकटमा दाना उद्योग : उत्पादन अधिक तर माग कम, कच्चापदार्थको मूल्य बढ्दा थप घाटामा


विराटनगर । पशुपन्छीका दानाको उत्पादनका लागि चाहिने कच्चा सामग्रीको मूल्यमा वृद्धि भए पनि दानाको मूल्य यथावत् रहँदा देशभरिका दाना उद्योगहरू संकटमा परेका छन्।

Tata
GBIME
Nepal Life

यसअघि सामान्यतया कच्चा पदार्थको मूल्यको उतारचढाव सँगसँगै तयारी दानाको मूल्यनिर्धारण हुने गर्दथ्यो। तर यसपटक कच्चा पदार्थको मूल्यवृद्धि हुँदा पनि दानाको मूल्यवृद्धि हुन सकेको छैन। यसका कारण प्रत्येक उद्योगले घाटा खाएर दानाको बिक्री गरिरहनु परेको उद्यमीले बताएका छन्। देशभरका दाना उद्योग अहिले ३० देखि ४० प्रतिशत क्षमतामा मात्र चलाउनु परेको उनीहरु बताउँछन्। 

नेपाल दाना उत्पादक संघका अध्यक्ष रबिन पुरीका अनुसार पशुपन्छीका दानामा मुख्यतः प्रयोग हुने मकै र भटमासको पिनामा मूल्यवृद्धि भएको छ।

अध्यक्ष पुरीले काठमाडौंमा दशैंअघि मकैको मूल्य प्रति किलो ३८ रहेकोमा अहिले ४५ र भटमासको पिनाको मूल्य ८८ रुपैयाँबाट १०० रुपैयाँ पुगेको बताए।

दाना उद्योगीले स्वदेशी उत्पादनबाट ३० प्रतिशत मकै मात्र पाइरहेका छन्। बाँकी ७० प्रतिशत भारतबाट आयात भइरहेको छ। त्यस्तै भटमासको पिनाको उत्पादन नेपालमा छैन, शत प्रतिशत आयातकै भर पर्नुपर्छ। पिनाको आयात भारत, अमेरिका र ब्राजिलबाट हुँदै आएको छ। मकै र पिनाको मात्र आयात वर्षमा ४० अर्ब बराबरको हुने उद्योगीको दाबी छ।

देशभर नै दानाको मूल्य काठमाडौंमा चलिरहेको कच्चा पदार्थको दरभाउले निर्धारण गर्ने पुरीको भनाइ छ। तर, दानाको मूल्य दशैंअघि प्रति किलो ७८ देखि ८२ रुपैयाँ थियो भने अहिले पनि यही दरमा कारोबार भइरहेको छ।

‘दाना, चल्ला र कुखुराको व्यवसाय अन्योन्याश्रित छन्’, अध्यक्ष पुरीले भने, ‘एउटा व्यवसाय संकटमा पर्‍यो भने यसको असर अन्य दुईमा पनि पर्छ। आर्थिक मन्दीका कारण अहिले मासुको खपत घटेको छ। व्यक्तिगत प्रयोजन र होटल–रेस्टुरेन्ट दुबै प्रयोजनका लागि मासुको मागमा ठुलो ह्रास आएको छ। यसको असर चल्ला उत्पादनदेखि कुखुरापालनसम्म परेको छ।’

देशभरि नै मासुको मागमा ३५ प्रतिशतले कमी आएको पुरीको भनाइ छ। यसका कारणले कुखुरापालक किसानले बढेका कुखुराको बिक्री गरेर नयाँ चल्ला खोरमा हुल्न सकिरहेका छैनन्। सामान्यतया किसानले खोरमा चल्ला राखेको ३६ देखि ३८ दिनमा कुखुरा बिक्री गर्ने गर्दथे। अहिले ५५ देखि ६० दिनसम्मका कुखुराहरू खोरमा पालेर राख्नुपरेको छ। यसले गर्दा दानाको नाश भइरहेको छ र किसानले प्रतिफल पाउन नसकी उल्टो घाटा ब्यहोर्नु परेको छ। अर्कातिर खोरमा ५० दिन कटेका कुखुराहरू मरिरहेको अवस्था छ। मन्दीका कारणले नै यस्तो भएको उनको दाबी छ।

उनले किसानले कुखुराको मासुको मूल्य नै प्रति किलो ४० रुपैयाँ घटाएर बिक्री गर्न थालेपछि दाना उद्योगीले पनि मूल्यवृद्धि गर्न नसकेको जिकिर गरे।

अध्यक्ष पुरीका अनुसार नेपालमा कोभिड १९ महामारी पूर्व दानाको खपत दैनिक ३ हजार ५०० टन थियो। यो खपत प्रत्येक वर्ष १० देखि १५ प्रतिशतले वृद्धि हुनुपर्नेमा उल्टो घटेको छ। अहिले दैनिक २ हजार ५०० टन दानाको खपत मात्र भइरहेको छ। जबकि देशभरिका ११३ दाना उद्योगको दैनिक उत्पादन क्षमता १२ हजार टन हो।

उनले सुनाए, ‘दानाको मागमा उल्लेखनीय रूपमा कमी आएपछि प्रत्येक उद्योग हप्तामा ३ दिन, त्यो पनि ८ घण्टा मात्र सञ्चालनमा छन्। कतिपय उद्योगहरू बैंकको लिलामीमा चढ्न थालेका छन्।’

उनले कोरोना महामारीअघि देशभरि ३६८ वटा ह्याचरी उद्योग रहेको र अहिले घटेर १२० वटामा सीमित भइसकेको जानकारी दिए।

पुरीले नेपालका कुखुरापालक किसान समस्यामा पर्नुको अर्को कारण भारतबाट अवैध रूपमा कुखुरा, तयारी मासु, चल्ला र अन्डा आउनु पनि हो भन्ने धारणा व्यक्त गरे।

उनले भने, ‘यसअघि आलुचिप्स र हरियो केराउको प्रज्ञापनपत्र बनाएर तयारी मासु भित्र्याएको पनि देखियो। यस्तो क्रम रोकिएको छैन। हामीले बारम्बार प्रधानमन्त्री र गृहमन्त्रीसमक्ष गुनासो गरेका छौं। हामीले गुनासो गरेको २ हप्तासम्म केही कडाइ हुन्छ। त्यसपछि फेरि उस्तै अवस्था हुन्छ।’

संघका उपाध्यक्ष एवम् सागर फिड्सका सञ्चालक ज्ञानु पराजुलीले कोशी प्रदेशका उद्योगहरू अधिकतम २५ प्रतिशतमा मात्र चलिरहेको जानकारी दिए।

उद्योगी पराजुलीले दाना उद्योग ब्रेक इभन (नाफा–घाटाबराबर)को अवस्थामा आउन कम्तीमा पनि ३० प्रतिशत क्षमतामा चलेको हुनुपर्ने बताए।

‘सबैजसो उद्योग घाटामा छन्’, संघको कोशी प्रदेशका अध्यक्षसमेत रहेका पराजुलीले भने, ‘सबैजसो उद्योगसित ३०–४० करोडको ऋण छ। उत्पादन र विक्री हरेक दिन घट्तो क्रममा छ। यो परिदृश्यले औद्योगिक र बैंकिङ क्षेत्र एकै चोटि संकटमा पर्ने देखिँदैछ।’

उनले विराटनगरमा दशैंअघि मकैको मूल्य प्रति किलो ३२ रहेकोमा अहिले ३८ र पिनाको मूल्य ८४ बाट ९७ भएको जानकारी दिए।

पराजुलीले भारतीय सीमा नजिकै भएकाले हेटौंडा, चितवन र काठमाडौंभन्दा सीमावर्ती तराई क्षेत्रमा मकै र पिनाको मूल्य केही सस्तो हुने उल्लेख गरे।

पशुपन्छीका दानामा मकैको अंश ५० देखि ६० र पिनाको २० देखि ३० हुन्छ।

उनले भने, ‘तर दानाको मूल्यनिर्धारण हुने चाहिँ काठमाडौंमै चलेको मूल्यले हो। अहिले दानाको उत्पादन अधिक तर माग कम भएको अवस्था छ। मेरो २५ वर्षको अनुभवमा दाना उद्योग यति ठुलो संकटमा परेको अवस्था थिएन। अहिलेको परिस्थिति अत्यन्त विषम र विकराल छ।’

उद्योग संगठन मोरङका कार्यकारी निर्देशक चूडामणि भट्टराईले देशमा उपभोग गर्ने मुख्य पुस्ता नै विदेशमा भएका कारण हरेक वस्तुको उपभोग र बिक्रीमा ह्रास आएको बताए।

भट्टराईले भने, ‘कुनै पनि समाज र राष्ट्रको मुख्य उपभोक्ता भनेको नै युवा पुस्ता हो। नेपालको युवा पुस्ताको ठुलो हिस्सा अध्ययन र रोजगारीका क्रममा बाहिर छ। मन्दीले मात्र नभई युवापुस्ताको ठुलो भाग देशबाहिर भएका कारणले पनि आर्थिक कारोबार शिथिल भएको हो।’