जापान सरकारले सरकारी तथा निजी क्षेत्रमा कार्यरत कर्मचारीलाई अत्यधिक कामको बोझ घटाउन विभिन्न रणनीति ल्याइरहेको छ। त्यस अन्तर्गत कर्मचारीको सुविधाका लागि पारिश्रिकसहितको बिदा (पेड लिभ) पनि दिइन्छ। सरकारले यसरी दिइने बिदा लिन कर्मचारीहरुलाई प्रोत्साहित पनि गरिरहेको छ।
यसबीच एक सरकारी सर्वेक्षणले जापानमा निजी क्षेत्रमा कार्यरत कर्मचारीले सन् २०२२ मा ६२.१ प्रतिशतले पेड लिभ लिएको देखाएको छ। तोकिएको १७.६ दिनमा उनीहरु कम्तीमा १०.९ दिन बिदामा बसेका हुन्।
सन् २०२१ भन्दा यसरी बिदा लिनेको संख्या ३.८ प्रतिशतले बढेको हो। जापान सरकारले भने सन् २०२५ सम्म पेड लिभ लिने कर्मचारीको संख्या ७० प्रतिशत पुर्याउने लक्ष्य लिएको छ।
जापानको स्वास्थ्य मन्त्रालयले गत जनवरीमा ३० जना वा त्यो भन्दा बढी कर्मचारी हुने ६ हजार ४२१ वटा नीति कम्पनीमा सर्वेक्षण गरेको थियो। जसमा ३ हजार ७ सय ६८ जनाले आफ्नो मत दिएका थिए।
एक हजारभन्दा बढी कर्मचारी हुने कम्पनीमा बिदा लिनेको संख्या ६५.६ प्रतिशत र ३० देखि ९९ जना कर्मचारी हुने कम्पनीमा बिदा लिनेको संख्या ५७.१ प्रतिशत छ।
हुलाक कार्यालय र अन्य विभिन्न व्यापारिक सेवा दिने उद्योगमा ७४.८ प्रतिशत कर्मचारीले पेड लिभ लिने गरेको सर्वेक्षणमा देखिएको छ। खाद्यान्न र बसाई सेवा दिने उद्योगमा भने ४९.१ प्रतिशतले मात्रै बिदा लिने गरेको पाइएको छ।
जापानले लामो काम गर्ने अवधिलाई घटाउन ‘वर्क इन्टर्भल सिस्टम’ ल्याएको छ। जस अन्तर्गत काम गर्ने समयको मानक तोकिएको छ। कार्यालय सकिएको समयदेखि सुरु हुने समयबीचको अवधिसमेत तोकिएको छ। तर सर्वेक्षणमा भने यो प्रणाली मात्रै कमै कम्पनीले मात्रै पालना गर्ने गरेको पाइएको छ।
जापानमा कुनै पनि कम्पनीमा काम गरेको अवधि र काम गर्ने समयको आधारमा निश्चित पेड लिभ दिने गरिन्छ। लगातार ६ महिना काम गर्ने कर्मचारी (रेगुलर वर्कर) ले १० दिन, साढे १ वर्ष काम गरेकाले ११ दिन बिदा, साढे २ वर्ष काम गरेकाले १२ दिन बिदा पाउँछन्। यस्तै, साढे पाँच वर्ष काम गरेकाले वर्षमा १८ दिन र साढे ६ वर्ष काम गरेकाले वर्षमा २० दिन पेड लिभ पाउँछन्।
यस्तै, छोटो समयका लागि काम गर्ने कर्मचारीहरुका लागि पनि कामको अवधि र समय हेरेर बिदा दिने गरिन्छ।