काठमाडौं। काठमाडौंमा दुईजना महिला नक्कली नोट सहित पक्राउ परेका छन्।
पक्राउ पर्नेहरूमा शंखरापुर नगरपालिका-७ डेरा गरि बस्ने सिन्धुपालचोक जलविरेकी ४९ वर्षीया सिर्जना थापा र बूढानीलकण्ठ नगरपालिका-१२ कपन डेरा गरि बस्ने ओखलढुंगा कुईवीर गाउँपालिका-४ की ४१ वर्षीया मैया कुमारी घिमिरे रहेका छन्।
सिर्जनाको साथबाट १ हजार दरको १४० थान र कुमारीको साथबाट १ हजार दरको २१ थान नक्कली नोट बरामद गरेको प्रहरीले जानकारी दिएको छ।
सिर्जना र मैया कुमारीले नक्कली नोटको कारोबार गर्ने गरेको भन्ने सूचनाको आधरमा प्रहरी प्रभाग साँखु र प्रहरी प्रभाग कपनको प्रहरीले शंखरापुर नगरपालिका-७ कोलागालमा अपरेसन संचालन गरेको थियो। सिर्जनालाई सोमबार राती साँखुबाट र प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले मैया कुमारीलाई बुढानिलकण्ठ नगरपालिका-१२ कपन निलोमाईक्रो पार्क नजिकबाट सोमबार साँझ पक्राउ गरेको हो।
प्रहरीले अरु पनि यस्ता नोट हुनसक्ने आशंका अन्य प्रहरीका विभागसँग समन्वय गरेर अपरेसन जारी राखेको छ।