
काठमाडौं। अर्थतन्त्रमा देखिएको संकट समाधानको उपाय खोजिरहेको सरकारले निजी क्षेत्रसँग परामर्श गर्ने भएको छ। सुस्ताएको अर्थतन्त्र चलायमान बनाउन सुझाव लिने उद्देश्यले सरकारले मंगलबार दिउँसो २ बजे निजी क्षेत्रसँग छलफल गर्न लागेको अर्थमन्त्री डा. प्रकाशशरण महतले बताए।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा उक्त छलफल हुने छ। वर्तमान अर्थतन्त्रबारे छलफल गर्न सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो।
बैठकपछि अर्थमन्त्री महतले भने, ‘आन्तरिक संरचनामा के उपलब्धि भयो, वर्तमान समस्या र चुनौती तथा आगामी कार्यदिशा के लिएर अगाडि बढ्दैछौं भन्ने विषयमा निजी क्षेत्रको पनि सुझाव लिने योजना रहेको छ।’
बैठकमा अर्थमन्त्री महतले अर्थतन्त्रको वर्तमान अवस्थाबारे ब्रिफिङ गरेका थिए। राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र योजना आयोगका प्रतिनिधिले पनि धारणा राखेका थिए।

‘समग्रमा अर्थतन्त्रले लय समातिरहेको छ। विप्रेषण, पर्यटक आगमन र शोधनान्तरको स्थितिले हामी राम्रो अवस्थामा छौं’, मन्त्री महतले भने, ‘कारोबार कम भइरहेको, उत्पादन कम, लगानी वृद्धि नभइरहेको अवस्था छ, यस विषयमा पनि समीक्षा भयो। जग्गा कारोबार, बैंकबाट कर्जा प्रवाह बढेको र गत वर्षको तुलनामा पुँजीगत खर्च पनि बढेको र साधारण खर्चमा मितव्ययी भएको छ। लक्ष्यअनुसार हामीले उपलब्धि हासिल गरिरहेका छौं।’
बैठकमा रोजगारीका अवसर वृद्धि गर्ने विषयमा पनि छलफल भएको महतले बताए। सहकारी र लघुवित्तको नियमन अभावले समस्या आएको विषयमा पनि बैठकमा छलफल भएको थियो।
बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण तिर्नुपर्छ तर त्यसलाई कसरी सहज बनाउन सकिन्छ र कति समय थप्न सकिन्छ भन्ने विषयमा राष्ट्र बैंकको भूमिकाबारे पनि छलफल भएको महतले बताए।
बैठकमा अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग, नेपाल राष्ट्र बैंक र विकाससँग सरोकार राख्ने मन्त्रालयका मन्त्री र सचिव तथा अन्य सम्बन्धित पदाधिकारीको उपस्थिति थियो।