बिदापछि खुलेको सेयर बजारमा झिनो वृद्धि, ब्याजदर घट्दा बढ्ला त लगानीकर्ताको मनोबल?

बिजमाण्डू
२०८० मंसिर ४ गते १५:५२ | Nov 20, 2023
बिदापछि खुलेको सेयर बजारमा झिनो वृद्धि, ब्याजदर घट्दा बढ्ला त लगानीकर्ताको मनोबल?

काठमाडौं। तिहार तथा छठ बिदापछि खुलेको सेयर बजार परिसूचक सोमबार झिनो अंकले बढेको हो। नेप्से १.३९ अंकले बढेर १८५३.४८ विन्दु कायम भएको हो।

Tata
GBIME
NLIC

ग्लोबल आईएमई लघुवित्त र कर्णाली विकास बैंकको सेयर सर्किट लागेर बढेको छ। सेयर मूल्य ग्लोबल आईएमई लघुवित्तको प्रति कित्ता ८३ र कर्णाली विकास बैंकको प्रति कित्ता २५ रुपैयाँले बढेको हो।

बजार खुलेको १० मिनेटमै नेप्से बढेर १८७३ अंकमा पुगेको थियो। तर वृद्धि अन्तिमसम्म टिक्न सकेन। तैपनि बजार झिनो अंकले बढ्नुलाई पनि वाणिज्य बैंकहरुले मंसिरका लागि ब्याजदर घटाएको प्रभावका रुपमा लिइएको छ। ब्याजदर घटाइएकाले लगानीकर्ताको मनोबल बढ्ने विश्‍वास गरिएको छ।

वाणिज्य बैंकहरुमा व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर कात्तिकमा ९.९६४ प्रतिशत रहेकामा अब ९.६३२ प्रतिशतमा झरेको छ। त्यसैगरी, संस्थागत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ७.८५३ प्रतिशतबाट ७.५४६ प्रतिशतमा झरेको छ।

२० मध्ये १३ वटा बैंकले व्यक्तिगत र संस्थागत दुवै निक्षेपको ब्याजदर घटाएका छन्। निक्षेपको ब्यजदर घटेकाले बैंकहरुको लागत सस्तिन्छ र कर्जाको ब्याजदर पनि घट्छ। जुन बजारका लागि सकारात्मक हो।

नेप्सेमा सोमबार १ अर्ब ९ करोड रुपैयाँको सेयर किनबेच भएको छ। सबैभन्दा धेरै कारोबार हुनेमा हिमालयन डिस्टिलरी शिर्ष स्थानमा रह्‍यो। यो कम्पनीको ७ करोड ३६ लाख रुपैयाँको सेयर किनबेच भयो।