इन्टरनेट वा मोबाइल सेवा प्रदायकले टिकटकमा ‘एक्सेस’ दिए जानकारी गराउन प्राधिकरणको आग्रह

बिजमाण्डू
२०८० मंसिर ३ गते ०८:०० | Nov 19, 2023
इन्टरनेट वा मोबाइल सेवा प्रदायकले टिकटकमा ‘एक्सेस’ दिए जानकारी गराउन प्राधिकरणको आग्रह
Photo : reuters

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले कुनै पनि इन्टरेनट वा मोबइल सेवा प्रदायकले प्रतिबन्धित चिनियाँ एप टिकटकको संचालन गरिरहेको पाइए जानकारी गराउन आग्रह गरेको भनेको छ।

Tata
GBIME
NLIC

प्राधिकरणको निर्देशनको कार्यान्वयन नगरी कुनै इन्टरनेट सेवा प्रदायक वा मोवाइल सेवा प्रदायक कम्पनिको नेटवर्कबाट अझै पनि टिकटक मा पहुँच पुगिरहेको भए वा टिकटक चलिरहेको वा प्रयोग भईरहेको भए प्राधिकरणलाई जानकारी गराउन भनिएको हो।

प्राधिकरणले यसअघि नै सबै इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकलाई टिकटकको पँहुचमा तत्काल रोक लगाउन निर्देशन दिएको थियो। प्राधिकरणले उक्त निर्देशनको पालना नगरे कारबाही हुने जनाएको थियो।

तर, सरकारले चिनियाँ एप टिकटकको प्रयोगमा प्रतिबन्ध लगाएपछि गैरकानुनी रुपमा सो एपको प्रयोग बढेको छ। भिपिएन र डीएनएस सर्भरबाट टिकटक चलाउने बढेपछि सतर्कता अपनाउन आग्रह पनि गरिएको छ।

के छ प्राधिकरणको सूचनामा ?

नेपाल दूरसंचार प्राधिकरणबाट जारी गरिएको अत्यन्त जरुरी

सूचना नेपाल सरकार मन्त्रिपरिषद्को २०८०|०७|२७ गतेको बैठकबाट “सामाजिक संजालको रुपमा प्रयोग भइरहेको टिकटकका माध्यमबाट सामाजिक सदभाव एवम् सामाजिक वातावरणमा नकारात्मक असर परिरहेकोले नेपालमा टिकटकको प्रयोगमा तत्काल रोक लगाउने” निर्णय भए बमोजिम उक्त निर्णय कार्यान्वयनको लागि दूरसंचार ऐन, २०५३ को दफा १५ ले दिएको अधिकार प्रयोग गरी सम्बन्धित सवै इन्टरनेट सेवा प्रदायकहरु र मोवाइल सेवा प्रदायकहरुलाई प्राधिकरणबाट निर्देशन दिईसकिएको र सम्बन्धित सबै सरोकारवालाहरुको जानकारीको लागि सूचना पनि प्रकाशन गरिसकिएकोमा प्राधिकरणको निर्देशनको कार्यान्बयन नगरी यदि कुनै इन्टरनेट सेवा प्रदायक वा मोवाइल सेवा प्रदायक कम्पनिको नेटवर्कबाट अझै पनि टिकटक (Tiktok) मा पहुँच पुगिरहेको भए वा टिकटक चलिरहेको वा प्रयोग भईरहेको भए प्राधिकरणको इमेल ठेगाना [email protected] मा इमेल गरी त्यस्तो कम्पनिको बारेमा जानकारी गराउनुहुन इन्टरनेट सेवाग्राहीहरुलाई अनुरोध गरिएको छ |