नागरिक लगानी कोषले माग्यो कार्यकारी निर्देशक‚ प्रतिष्पर्धाका लागि खुल्यो दरखास्त

बिजमाण्डू
२०८० कात्तिक २१ गते ०९:५७ | Nov 7, 2023
नागरिक लगानी कोषले माग्यो कार्यकारी निर्देशक‚ प्रतिष्पर्धाका लागि खुल्यो दरखास्त


काठमाडौं। नागरिक लगानी कोषले कार्यकारी निर्देशक खुल्ला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा पदपूर्ति गर्ने भएको छ। योग्य उम्मेदवारलाई कोषले मंगलबारदेखि २१ दिनभित्र दरखास्त बुझाउन आह्वान गरेको छ।

Tata
GBIME
NLIC

गोप्य सिलबन्दी आवेदन सिंहदरबारस्थित अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा दिन सकिने कोषद्वारा जारी सूचनामा उल्लेख छ।

कार्यकारी निर्देशक पदमा नियुक्त हुनका लागि नागरिक लागानी कोष ऐन, २०४७ को दफा ४२ (१) र कोषको कार्यकारी निर्देशकको छनोट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८० बमोजिम योग्यता तथा अनुभव भएको हुनु पर्नेछ। अर्थ मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयनसम्बन्धी मापदण्ड, २०७३ को दफा ३ बमोजिम नियुक्तिका लागि योग्यता भएको र सोही मापदण्डको दफा ४ बमोजिम अयोग्य नरहेको हुनुपर्ने पनि सूचनामा छ।

दरखास्तसाथ कोषको कार्यकारी निर्देशकको छनोट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८० को दफा ३ बमोजिमको कागजात तथा विवरण र दफा ४ अनुसारको स्वयं घोषणाको व्यहोरासहितको निवेदन आवेदक स्वयंले प्रमाणित गरी पेस गर्नु पर्नेछ। कार्यविधि अर्थ मन्त्रालयको वेबसाइटबाट डाउनलोड गर्न सकिनेछ ।

दरखास्त पेस गर्दा शैक्षिक योग्यता, अनुभव, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, वैयक्तिक विवरण र २ प्रति पासपोर्ट साइजको फोटो तथा उपर्युक्त कार्यविधिको दफा ६ बमोजिमको व्यावसायिक कार्ययोजना (बढीमा पाँच हजार शब्द) खामबन्दी गरी अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा पेस गर्नुपर्ने जनाइएको छ।

छनोट सूचीमा परेका उम्मेदवारले आफूले पेस गरेको व्यावसायिक कार्ययोजना तोकिएको मिति र समयमा प्रस्तुतिकरण समेत गर्नु पर्नेछ।

तोकिएको म्यादभित्र आएका आवेदनहरूबाट प्रथम चरणमा बढीमा पाँच जनाको छनोट गरी दोस्रो चरणमा सहभागी गराइने जनाइको छ। दोस्रो चरणबाट उपयुक्त तीन जना उम्मेदवारको छनोट गरी अर्थ मन्त्रालयमा सिफारिस हुनेछ। दरखास्त दस्तुर ५ हजार रुपैयाँ छ।