म्युचुअल फण्डले अब आरक्षणको आइपिओ बेच्न नपाउने, यस्तो छ धितोपत्र बोर्डको निर्देशन

बिजमाण्डू
२०८० कात्तिक २० गते २१:४४ | Nov 6, 2023
म्युचुअल फण्डले अब आरक्षणको आइपिओ बेच्न नपाउने, यस्तो छ धितोपत्र बोर्डको निर्देशन


काठमाडौं। अब म्युचुअल फण्डले आरक्षणको आइपिओ बेच्न नपाउने भएका छन्। नेपाल धितोपत्र बोर्डले सोमबार निर्देशन जारी गर्दै ६ महिनासम्म यस्तो शेयर बिक्री गर्न रोक लगाउने जनाएको हो।

Tata
GBIME
NLIC

निर्देशनमा भनिएको छ, ‘संगठित संस्थाको सार्वजनिक निष्कासन गरिने धितोपत्रको कम्तिमा पाँच प्रतिशत धितोपत्र सामूहिक लगानी कोषको लागि खुट्ट्याउनु पर्ने सामूहिक लगानी कोष नियमावली, २०६७ को व्यवस्था बमोजिम सामूहिक लगानी कोषले खरिद गरेको धितोपत्र संगठित संस्थाले सर्वसाधारणलाई सार्वजनिक निष्कासन गरी बाँडफाँड भएको मितिले छ महिना पुरा नभएसम्म बिक्री वा हस्तान्तरण गर्न पाउने छैन।’

बोर्डका अनुसार निर्देशन कार्तिक २१ गतेबाट लागू हुने छ। सोही अनुसार व्यवस्था गर्न/गराउन सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड र सम्पूर्ण योजना व्यवस्थापकहरूलाई बोर्डले निर्देशन दिएको हो।

तर आइपिओ बाँडफाँड भएको आगामी छ महिना मै म्युचुअल फण्ड परिपक्व हुने भए, त्यस्ता योजनालाई भने निर्देशनले नरोक्ने जनाएको छ।

निर्देशनमा भनिएको छ, ‘धितोपत्र बाँडफाँड भएको मितिले छ महिनाभित्र नै योजनाको निर्धारित समयावधि समाप्त हुने वा योजना खारेज हुने अवस्थामा उक्त अवधिभित्र सामूहिक लगानी कोषको स्वामित्वमा रहेको धितोपत्र बिक्री तथा हस्तान्तरण गर्न भने पाइने छ।’