प्रचण्ड नेतृत्वको सरकारलाई शेखरको चेतावनी: कि सच्चिनु, नभए छाड्न तयार हुनु

बिजमाण्डू
२०८० असोज १७ गते २०:४७ | Oct 4, 2023
प्रचण्ड नेतृत्वको सरकारलाई शेखरको चेतावनी: कि सच्चिनु, नभए छाड्न तयार हुनु


काठमाडौं। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले वर्तमान सरकार तत्काल सच्चिनुपर्ने नत्र छाड्नुपर्ने बताएका छन्। कपिलवस्तुको तौलिहवामा आयोजित कपिलवस्तुको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै कोइरालाले सरकार जति दिन रह्यो त्यति मुलुक बर्बादीतर्फ जाने ठोकुवा गरे।

Tata
GBIME

‘अब अति भयो, जति दिन यो सरकार राख्यो त्यति देशको राष्ट्रियता, सार्वभौमिकता, राजनीतिक र अवस्था कमजोर हुँदै जान्छ। नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन अपरिहार्य भैसक्यो,’ कोइरालाले भने।

कोइरालाले सरकारको हेपाहा र बलमिच्याईले चर्को महंगीका कारण जनताको चुलो नबल्ने अवस्थामा पुगेको बताए।

जनतालाई सहुलियत दिनुपर्नेमा चाडपर्वको मुखमा दैनिक उपभोग्य वस्तुहरुको भाउ बढ्नु राम्रो संकेत नभएको समेत बताए। कोइरालाले सभापति शेरबहादुर देउवाले विधानसम्मत पार्टी सञ्चालन नगरेकाले कांग्रेस पार्टी अप्ठ्यारो अवस्थामा परेको बताए।

सभापति देउवासँग व्यक्तिगत रुपमा आफ्नो कुनै रिस नभएको तर पार्टी विधि र बिधान अनुसार चल्नुपर्छ भन्ने कुरामा आफूले कसैसँग सम्झौता नगर्ने धारणा राखे।

‘पार्टी भित्र दुर-दराजका इमान्दार, निष्ठावान र सक्रिय साथीहरूको मूल्यांकन हुन सकेको छैन, त्यसैले कांग्रेसको जग नै कमजोर हुन थालेको छ,’ कोइरालाले भने।