गृहमन्त्री श्रेष्ठले भने- सरकारको सुशासन अभियानविरुद्ध संगठित शक्ति लागेको छ

बिजमाण्डू
२०८० असोज १५ गते १६:०७ | Oct 2, 2023
गृहमन्त्री श्रेष्ठले भने- सरकारको सुशासन अभियानविरुद्ध संगठित शक्ति लागेको छ


हेटौंडा। उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले अगाडि बढाएको सुशासन अभियान कुनै पनि बहानामा नरोकिने बताएका छन्। उनले सोमबार हेटौंडामा एक कार्यक्रममा अभियानविरुद्ध संगठित शक्ति आक्रामक ढंगले प्रस्तुत भइरहेको आरोप लगाउँदै सरकार अभियानबाट पछि नहट्ने बताएका हुन्।

Tata
GBIME

निकास साप्‍ताहिकको २० औं वार्षिकोत्सव उद्‍घाटन गर्दै गृहमन्त्री श्रेष्ठले सरकारले भ्रष्टाचारविरुद्ध काम अगाडि बढाएपछि त्यसका संरक्षकहरु आत्तिएको र अभियानविरुद्ध लागेको आरोप लगाए। उनले सरकारविरुद्ध लाग्ने संगठित शक्ति र भ्रष्टाचारका संरक्षक को हुन् भन्नेचाहिं स्पष्ट पारेनन्।

‘हामीले भ्रष्टाचार, कुशासन, जाली फटाहाविरुद्ध काम गरिरहँदा त्यसको संरक्षक आत्तिएर सरकारविरुद्ध लागेका छन्। तर हामी भ्रष्टाचारविरोधी अभियान छोड्नेवाला छैनौं’, उनले भने।

उनले सुशासनको अभियान अगाडि बढाएपछि सरकारप्रति जनतामा विश्‍वास बढेको दाबी गरे। सुशासनको प्रत्याभूति गराउन मन्त्रीहरुको अनावश्यक खर्च कटौती गरेको तथा विभूषण वितरण रोकेको उनको भनाइ छ।