
काठमाडौं। सरकारले आइतबार १३ अर्ब १० करोड रुपैयाँ थप आन्तरिक ऋण उठाउने भएको छ। सरकारका लागि नेपाल राष्ट्र बेंकले ८ वर्ष अवधिको विकास ऋणपत्रमार्फत आन्तरिक ऋण उठाइदिन लागेको हो।
बोलकबोल माध्यमबाट ब्याज दर निर्धारण हुनेछ। बैंक तथा वित्तीय संस्थाका साथै गैरबैंकिङ संस्था, बीमा, संगठित संस्था र आम नागरिकले पनि यो ऋणपत्र खरीद गर्न सक्नेछन्।
राजस्व नउठ्ने र वैदेशिक सहायता र ऋण पनि परिचालन नहुने अवस्था आएपछि सरकारले आर्थिक वर्षको सुरुवातबाटै आन्तरिक ऋण उठाउन थालेको हो।
दसैंमा सरकारी कर्मचारीलाई दिइने तलबभत्ता, सामाजिक सुरक्षा, पेन्सनलगायतको दायित्व साबिकभन्दा दोब्बर हुन्छ। त्यसैले पनि सरकारले धमाधम आन्तरिक ऋण उठाउन थालेको हो।
ऋणपत्रको ब्याज भुक्तानी प्रत्येक ६ महिनामा हुनेछ। साँवा भने २०८८ असोझ १५ गते मात्र फिर्ता हुने छ। कम्तिमा ५० हजार र बढीमा सबै उठाउन मिल्ने छ।