एनएसी व्यवस्थापनको बदमासी, मर्मत गर्ने कम्पनीको ‘स्टक’ इन्जिन हालेर उडाइयो जहाज

बिजमाण्डू
२०८० असोज १२ गते १८:४९ | Sep 29, 2023
एनएसी व्यवस्थापनको बदमासी, मर्मत गर्ने कम्पनीको ‘स्टक’ इन्जिन हालेर उडाइयो जहाज

काठमाडौं। नेपाल वायु सेवा निगमले न्यारोबडी जहाजमा भाडाको इन्जिन जडान गर्दा चरम लापर्वाही गरेको छ। निगमले मर्मत गर्ने कम्पनी इजरायल एरोस्पेस इन्डस्ट्रीको ‘स्टक’मा रहेको इन्जिन न्यारोबडी जहाजमा जडान गरेर उडान थालेको छ।

Tata
GBIME
NLIC

इजरायल एरोस्पेस इन्जिन भाडामा दिने कम्पनी नै होइन। इजरायलको यो कम्पनीले सैनिक र गैरसैनिकका जहाज मर्मत सम्भार गर्छ। भाडामा दिने कम्पनी नभएकैले उसले निगमको न्यारोबडी जहाजमा इन्जिन जडान गर्न ११ दिन लगाएको थियो।

इन्जिन मर्मतका लागि भनेर निगमले भदौ ३१ गते इजरायल लगेको जहाज शुक्रबार मात्र नेपाल ल्याइएको छ। निगमले असोज १ गते नै इन्जिन फेरेर फर्किने विज्ञप्तिमा उल्लेख गरेको थियो। त्यति मात्र होइन, निगमले त्यो जहाजका लागि गत आइतबारदेखि लागू हुने गरी उडान तालिका नै बनाएको थियो। तर इजरायल एरोस्पेसलाई इन्जिन जडान गर्न सहज भएन। इन्जिनले सपोर्ट नगरेपछि कम्पनी स्पेयर पार्ट्स खोज्न दौडिएको थियो।

‘इन्जिन भाडामा दिने कम्पनी कुनै समस्या आउनेबित्तिकै स्पेयर पार्ट्स खोज्दै हिंड्दैन। तत्कालै अर्को इन्जिन जडान गरेर पठाउनतिर लाग्छ,’ निगमका एक कर्मचारीले भने, ‘इन्जिन फेर्न ११ दिन लाग्नुले पनि यो कम्पनी लिजिङ गर्ने होइन भन्ने प्रष्ट हुन्छ।’

इजरायली कम्पनी एरोस्पेसका नेपाल एजेन्ट सुरेशलाल श्रेष्ठले एरोस्पेस इन्जिन भाडा दिने कम्पनी नभएको स्वीकार गरे। उनले निगमको जहाजमा स्टकमा रहेको इन्जिन जडान गरिएको पनि स्वीकार गरेका छन्।

‘यो इन्जिन भाडामा दिने कम्पनी होइन। त्यही भएर मर्मत गर्दासम्मका लागि स्टकमा रहेको इन्जिन हालिएको हो,’ उनले बिजमाण्डूसँग भने। उनै श्रेष्ठले निगमको बोइङको इन्जिन किन्न सहमति गरेका थिए। तर पछि उनले इन्जिन ड्यामेज भएको भन्दै किन्न अस्वीकार गरेका थिए।

निगम भने मेन्टिनेन्स, रिपेयर र ओभरहल(एमआरओ) नियुक्त गरिएकै आधारमा इन्जिन भाडामा लिइएको जिकिर गर्छ। ‘हामीले एमआरओ नियुक्ति गरेपछि सबै जिम्मा त्यही कम्पनीको हुन्छ। इन्जिन नबनेसम्मका लागि त्यही कम्पनीले दिएको भाडाको चलाउने सम्झौता भएको छ,’ निगमका प्रवक्ता रमेश पौडेलले भने, ‘हाम्रो इन्जिन तयार नभएसम्म भाडाको चलाउनुपर्छ।’

इन्जिन भाडामा खेलोफड्को

निगमले इन्जिन भाडामा लिएर चलाएको यो पहिलोपटक होइन। निगमका कार्यकारी निर्देशक युवराज अधिकारीले दुई वर्षअघि नेदरल्याण्डको एमटीयूसँग इन्जिन भाडामा लिने निर्णय गरेका थिए।

सन् २०२१ डिसेम्बर २७ तारिखमा कतारको दोहामा जहाज अवतरणपछि पार्किङ वेमा लैजाँदा बायाँ इन्जिन बिग्रिएको थियो। यो जहाज दोहामा ७० दिन ग्राउण्डेड गरेर एमटीयूसँग इन्जिन भाडामा लिइएको थियो।

निगम र एमटीयूसँगको सम्झौतामा इन्जिन भाडाबापपत दैनिक दुई हजार डलर तिर्ने सहमति भयो। त्यसबाहेक जहाज उडेको समयमा प्रतिघण्टा २७८ डलर र एकपटक ल्याण्डिङ गर्दा २३९ डलर तिनुपर्ने सम्झौता भयो। त्यही सम्झौताका आधारमा इन्जिन भाडामा लिइयो।

९० दिनका लागि इन्जिन भाडा लिने सम्झौता एक वर्षसम्म लम्ब्याइएको थियो। कमिसनकै लागि एक वर्ष लम्ब्याएर इन्जिन भाडामा लिइएको थियो।

अहिले पनि निगमका कार्यकारी निर्देशक अधिकारीले त्यही योजना अनुसार इन्जिन भाडामा लिएका छन्। ‘निगमको आफ्नो इन्जिन मर्मत गर्ने टुंगो नहुनुको पछाडि पनि यही कमिसनको खेल नै हो,’ निगमका ती कर्मचारीले भने, ‘यो जति पनि लामो समय जानसक्छ।’

क्याबिन क्रु १० दिनसम्म दुबईमा

निगमले इजरायलबाट इन्जिन फेरेर दुबई हुँदै नियमित उडान गर्ने योजना बनाएको थियो। त्यही योजना अनुसार निगम व्यवस्थापनले क्याबिन क्रुलाई दुबई पठाएको थियो।

इन्जिन फेर्दा समस्या आए पनि एक/दुई दिनका लागि भनेर पठाइएका क्याबिन क्रुलाई १० दिनसम्म निगम व्यवस्थापनले दुबईमा राखेको हो। भाडाको इन्जिन पनि समयमा मर्मत नभएपछि उनीहरु त्यहीं बस्न बाध्य भएका हुन्।