
काठमाडौं। सेयर धितो कर्जामा १२ करोडको सीमा हट्ने प्रतीक्षामा रहेका लगानीकर्ताको मनोबल खस्किदा सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ।
नेप्से सूचक १८.६ अंकले घट्दा २००४.३ को विन्दुमा पुगेको छ। पछिल्लो समय लगानीकर्ताले राष्ट्र बैंकको नीति परिमार्जनलाई नजिकबाट नियालिरहेका छन्।
विशेषगरी १२ करोडको सीमामा गभर्नर महाप्रसाद अधिकारी लचिलो हुने संकेतपछि बजारले बुलिस ट्रेन्ड समातेको थियो। तर बुधबारको राष्ट्र बैंकको संचालक समिति बैठकमा सेयर बजारबारे कुनै छलफल भएन।
१२ करोडलाई बढाउने वा घटाउने कुरा सञ्चालक समितिमा ल्याउनु पर्ने विषय पनि होइन। गभर्नर र व्यवस्थापनले आफ्नो तरिकाले निर्णय गर्न सक्छन्।
अर्थमन्त्री डा. प्रकाशशरण महतले १२ करोडलाई बढाउनुपर्ने बारेमा केही समय अघि सार्वजनिक रुपमा बोलेका थिए। त्यसपछि यो विषयले चर्चा पाएको थियो। लगत्तै गभर्नर अधिकारीले धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालसँग पनि कुराकानी गरेका थिए। अन्य क्षेत्रका प्रतिनिधिहरुसँगको भेटमा पनि गभर्नरले १२ करोडको सीमा बारे संकेत गरेका थिए।
गभर्नर अधिकारीले मंगलबार भने नियमन समितिको बैठक डाकेर भने कुराकानी गरेका थिए। उनले दुवै जना डेपुटी गभर्नर, नियमन विभाग र बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक र उच्च कर्मचारीलगायतसँग छलफल गरेका थिए।
करिब २ घण्टा चलेको छलफलमा सेयर कर्जालगायत अन्य कर्जाका बारेमा छलफल भएको स्रोतले बतायो।