बालेनले भनेको फुटपाथ व्यवस्थापन खै? राष्ट्रिय सभागृह बाहिर उभिँदै प्रश्न गरिरहेका छन् ई:

बिजमाण्डू
२०८० असोज १० गते १४:५१ | Sep 27, 2023
बालेनले भनेको फुटपाथ व्यवस्थापन खै? राष्ट्रिय सभागृह बाहिर उभिँदै प्रश्न गरिरहेका छन् ई:
तस्विर: कमल थापाको फेसबुकबाट


काठमाडौं। गतवर्ष सम्पन्न स्थानीय निर्वाचन ताका र्‍यापर बालेन्द्र शाहलाई काठमाडौं महानगरपालिकाको प्रमुख (मेयर)मा जिताउन युवाहरु निकै सक्रिय भए।

Tata
GBIME

विभिन्न अभियानमा संलग्न युवाहरु एकजुट भएर बालेनलाई जिताउन लागेका थिए। सामाजिक संजाल बालेनमय हुँदा उनी काठमाडौं महानगरका मेयर निर्वाचित भए।

त्यतिबेला बालेनलाई साथ दिएका युवाहरु अहिले उनलाई प्रश्न सोधिरहेका छन्। निर्वाचनबेला गरेको वाचा पूरा किन भएन? काठमाडौं महानगर फुटपाथमा व्यवसाय गर्नेहरुप्रति निर्मम बन्दा युवाहरु बालेनलाई जवाफदेही बनाउन चाहिरहेका छन्।

बालेनले निर्वाचनको बेला फुटपाथमा व्यवसाय गर्नेहरुलाई व्यवस्थापन गर्ने बताएका थिए। सुकुम्बासी व्यवस्थापनबारे पनि बालेनले बोलेका थिए। तर, मेयर भएपछि उनले त्यो बेला भनेका कुराहरु बिर्सिए। फुटपाथमा व्यवसाय गर्नेहरुप्रति बालेनको ‘महानगर प्रहरी’ निकै आक्रामक देखियो। ठेला खोस्ने देखि हात हालाहाल गरेर व्यवसायीप्रति निर्मम बन्यो प्रहरी, कुनै व्यवस्थापन बिना।

त्यसैले अहिले बालेनलाई त्यसबेला सहयोग गरेका ई: लगायत युवाहरु सडकमा आएका छन्। असोज २ गतेदिन देखि ई: सँगै युवाहरु दिनरात राष्ट्रिय सभागृह बाहिर उभिरहेका छन्। राष्ट्रिय सभागृहको सडकपेटीमा विभिन्न नारा लेखिएको पम्पलेट बोकेर युवाहरु उभिरहेका हुन्। ई:ले सुरु गरेको शान्तिपूर्ण आन्दोलनमा हरेकदिन युवाहरु जुटिरहेका छन्। विभिन्न क्षेत्रका युवाहरु पुगेर ई: सँगै दैनिक युवाहरु उभिरहेका छन्।

सुरुमा ७७ घण्टा भनेको विरोध अभियान अझै जारी छ। इनफ इज इनफ, सिंहदरबारमा रातो रंग पोत्ने लगायतका कार्यमा ई: र ती युवाहरु सक्रिय थिए। विद्यमान बेथितिविरुद्ध सडकबाटै आन्दोलन गरेर सत्तालाई तर्साएका युवाहरु अहिले महानगरकै विरुद्धमा आन्दोलनमा छन्।

गरिबको गीत गाउन बालेन आज अहिले बढलिएको भन्दै उनीहरु उभिएरै जवाफदेहिता खोजिरहेका छन्। तर, मेयर बालेनले यो अभियानलाई वेवास्ताजस्तै गरेका छन्।