काठमाडौं महानगरको श्रम बैंकमा एक महिनामा चार सय बेरोजगारको आवेदन‚ वर्गीकरण गरिँदै

बिजमाण्डू
२०८० असोज ६ गते १४:१८ | Sep 23, 2023
काठमाडौं महानगरको श्रम बैंकमा एक महिनामा चार सय बेरोजगारको आवेदन‚ वर्गीकरण गरिँदै

काठमाडौं। काठमाडौं महानगरपालिकाको श्रम बैंकमा चार सय आवेदन परेका छन्। गत भदौ पहिलो साता महानगरले सीप भएका तर रोजगार नभएका जनशक्तिलाई श्रम बैंकमा आबद्ध हुन माग गरेको सूचनाअनुसार एक महिनामै त्यति आवेदन परेको महानगरका प्रशासन महाशाखा प्रमुख सरिता राईले बताइन।

Tata
GBIME
NLIC

उनका अनुसार महानगरले आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रममा महानगर स्वर्णिम योजनाअन्तर्गत श्रम बैंक सञ्चालन गर्ने घोषणाअनुसार आवेदन माग गरेको हो। ‘यसबाट सामाजिक विकास, पूर्वाधार निर्माण, मर्मतसम्भार, सम्पदा संरक्षण, वातावरण संरक्षण, सहरी सुव्यवस्था कायम गराउनेलगायत क्षेत्रमा काम गर्न चाहिने जनशक्तिको सूचीकरण हुनेछ,’ प्रमुख राईले भनिन्। महानगरका ३२ वटै वडा कार्यालयमा आवेदन आएको उनले बताइन।    

महानगरले श्रम बैंक सञ्चालनका लागि कार्यविधि बनाउने काम गरिरहेको जनाउँदै संकलित आवेदनबाट प्राथमिकीकरण र वर्गीकरणको काम पनि भइरहेको प्रमुख राईले जानकारी दिइन। ‘बेरोजगारका लागि एउटा आधार तयार गरिदिने उद्देश्यले श्रम बैंकमा श्रमिकलाई आबद्ध गराइएको हो,’ उनले भनिन्, ‘महानगरले तयार गरेको श्रम बैंकमा श्रमिकको नाम हुन्छ। जहाँ श्रमिकको ज्यालादर, कामको प्रकार फोन नम्बर ठेगानालगायत विवरण उल्लेख गरिएको हुन्छ।’

कार्यक्रमको मुख्य उद्देश्य सहज रुपमा श्रमिक उपलब्ध गराई सीप क्षमता भएका श्रमिकलाई काममा लागाई उचित पारीश्रमिकको व्यवस्था गर्नु रहेको प्रमुख राईले बताइन। चालु आर्थिक वर्षका लागि काम गर्न इच्छुक व्यक्तिले आवेदनमा काम गर्न चाहेको कामको विवरण, आफूले काम गरेको भए अनुभवको क्षेत्रलगायत विवरण भर्नुपर्ने छ।

आवेदन फाराममा विभिन्न ६४ प्रकारका काम उल्लेख गरिएका छन्। फाराम आफू बसेको वडामा अथवा महानगरको रोजगार सेवा केन्द्रमा बुझाउन पर्ने उनले बताइन।

‘श्रम बैंकमा आबद्ध हुन स्थायी ठेगाना जहाँ भए पनि हुन्छ तर काठमाडौँमा बसोबास भएको हुनुपर्ने छ,’ प्रमुख राईले भनिन्, ‘कार्यक्रमले आवश्यक पर्ने श्रमशक्तिको उपलब्धता सहज हुनेछ।’ उनका अनुसार यसमा सूचीकृत जनशक्तिलाई अन्य सरकारी, गैरसरकारी तथा निजी क्षेत्रमा समेत उपलब्ध गराउन सकिने व्यवस्था छ। रासस