कमर्सियल इभी’मा सिप्रदीको इन्ट्री, टाटाको एस-इभी सार्वजनिक, मूल्य २६ लाख ९९ हजार

बिजमाण्डू
२०८० असोज ४ गते २१:४८ | Sep 21, 2023
कमर्सियल इभी’मा सिप्रदीको इन्ट्री, टाटाको एस-इभी सार्वजनिक, मूल्य २६ लाख ९९ हजार


काठमाडौं। टाटा गाडीको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले व्यवसायिक प्रयोजनको नयाँ विद्युतीय गाडी सार्वजनिक गरेको छ। सिप्रदीले बिहीबार एक कार्यक्रमबिच टाटा एस-इभी पिकअप भ्यान सार्वजनिक गरेको हो। योसँगै सिप्रदी व्यवसायिक इभीमा समेत प्रवेश गरेको छ।

Tata
GBIME

अहिले नेक्सन, टिगोर र टियागोको बिक्री सिप्रदीले गरिरहेको छ।

टाटा मोटर्सको कमर्सियल भेहिकल इन्टरनेशनल बिजनेस एन्ड स्ट्राटेजी प्रमुख अनुराग मेहरोत्रा र सिप्रदीका एक्जुकेटिभ चेयरम्यान सिद्धार्थ राणाले नयाँ इभी सार्वजनिक गरेका हुन।

सार्वजनिक भएको एस-इभीको नेपाली बजारमा २९ लाख ५० हजार रुपैयाँ मूल्य तोकिएको छ। फेस्टिभ अफरमा २६ लाख ९९ हजार रुपैयाँ मूल्य कायम गरिएको कम्पनीले जनाएको छ।

कार्यक्रममा अनुरागले टाटा र सिप्रदीबिचको सम्बन्ध ४ दशकदेखिको रहेको बताए।

यस्तै राणाले टाटा मोटर्सको कमर्सियल इभी अन्तर्राष्ट्रिय बजारमा सार्वजनिक हुनेमा नेपाल पहिलो रहेको बताए। उनले अहिले आर्थिक अवस्था कमजोर भए पनि विस्तारै बजार सुधार हुने अपेक्षा पनि व्यक्त गरे।

‘हाम्रो देशका वर्किङ युवा जनशक्ति दैनिक रूपमा बाहिर गइरहेको तीतो सत्य छ। जुन नेपाल फर्किने बाटोमा देखिँदैनन्’, उनले भने, ‘तर विदेश गएका वर्किङ युवा जनशक्तिलाई नेपाल फर्काउन नेपालको आर्थिक अवस्था बलियो बनाउनेतर्फ सरकार र निजी क्षेत्र लाग्नुपर्छ।’

सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले नेपालमा इभीको बजार बढ्दै गएको बताए। नाडा अटो शोले त्यसलाई पुष्टि गरेको श्रेष्ठले बताए।

‘हामी इभीको लागि आवश्यक इको सिस्टम तयार पार्न सक्षम भएका छौं। यसलाई अझै राम्रो बनाउने हाम्रो उद्देश्य छ’, उनले भने, ‘यसरी तयार पारेको इको सिस्टमले हामीलाई सफलताका लागि ह्युज सपोर्ट गरेको छ।’

सिप्रदीले नेक्सन र टिगोर इभीमा सफलता हासिल गरिसकेको छ। त्यस्तै ह्याचब्याक सेग्मेन्टको टियागो पनि नाडा अटो शोमा ५०० युनिटभन्दा धेरै बुकिङ भएका छन्।

कम्पनीका सिओओ राजेशप्रसाद गिरीले ‘अन द रोड सर्भिस’मा सिप्रदी सधैं तयार रहेको बताए।

यस्तो छ एस-इभी

एस-इभीमा ७ इन्चको इन्फोटेनमेन्ट सिस्टम छ। यस्तै नयाँ इन्स्ट्रुमेन्ट क्लस्टर पनि उपलब्ध छ।

गाडीमा टायर प्रेसर मोनिटरिङ सिस्टम र रियर भ्यु क्यामरा छ। यस्तै ब्याट्रीको लागि वाटरप्रुफ आइपी ७६ प्रमाणित स्ट्यान्डर्ड छ।

ब्याट्री फास्ट चार्जिङले फुल चार्ज गर्दा १०५ मिनेट लाग्छ। एक पटकको फुल चार्जमा १५४ किलोमिटर रेन्ज प्रदान गर्छ। यसमा २१.३ किलोवाट आवर (युनिट) क्षमताको लिथियम आयोन आरन फोस्फेट ब्याट्री छ। ब्रेकको समयमा पनि ब्याट्री रिचार्ज हुन्छ।

यस्तै यसमा २७ किलोवाटको मोटर छ। जसले १३० न्युटन मिटर पावर उत्पादन गर्छ।

एस-इभीको अधिकतम गति ६० किलोमिटर प्रतिघण्टा छ।

यसको ह्वील १७ इन्च र ग्राउन्ड क्लियरेन्स १६० एमएमको छ। कम्पनीले ब्याट्रीमा ६ वर्ष वा १ लाख ६० हजार किलोमिटरसम्मको वारेन्टी दिएको छ।

यो गाडी ८० प्रतिशत फाइनान्समा किन्न पाइने कम्पनीले जनाएको छ। यसको लोन अवधि ६ वर्षको रहेको छ।