कांग्रेस केन्द्रीय समिति बैठकमा खड्काले भने- शिक्षकहरुले वार्तामा नबस्न बहानाबाजी गरे

बिजमाण्डू
२०८० असोज ४ गते १७:१० | Sep 21, 2023
कांग्रेस केन्द्रीय समिति बैठकमा खड्काले भने- शिक्षकहरुले वार्तामा नबस्न बहानाबाजी गरे
कांग्रेस उपसभापति पूर्णबहादुर खड्का केन्द्रीय समितिको बैठकमा बोल्दै। तस्वीर: कांग्रेसको फेसबुक


काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा विद्यालय ठप्प पारेर शिक्षकहरुले आन्दोलन गरिरहेको विषयले प्राथमिकता पाएको छ।

Tata
GBIME

बिहिबार सुरु भएको बैठकमा बोलेका अधिकांश सदस्यले आन्दोलनका कारण पठनपाठन ठप्प हुनु गम्भीर विषय भएको भन्दै शिक्षकहरुसँग वार्ता गरेर समस्याको समाधान निकाल्न सरकारको ध्यानाकर्षण गराएका छन्। कल्याण गुरुङ, प्रतीमा गौतम, नैनसिंह महर लगायत सदस्यले शिक्षकहरुका जायज माग सरकारले सम्बोधन गर्नुपर्ने बताए। महरले ‘शिक्षकहरुको मागबारे नेपाली कांग्रेसको धारणा के हो?’ भनी सभापति शेरबहादुर देउवासँग प्रश्‍न गरे।

केन्द्रीय सदस्य गौतमले जतिसक्दो चाँडो वार्ता गरेर आन्दोलन टुंग्याउन लगाउनुपर्ने बताए।

केन्द्रीय सदस्य गौतमले शिक्षकहरुको आन्दोलनले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको भन्दै यस विषयमा कांग्रेस चुप लागेर बस्न नमिल्ने बताइन्। उनले बजारमा बढैको महँगीबारे पार्टीले नबोलेको भन्दै असन्तुष्टि जनाइन्। ‘भान्सा निकै महँगो बन्न पुगेको छ। यसबारे कांग्रेसले बोल्ने कि नबोल्ने?’, गौतमले प्रश्‍न गरिन्।

बैठकमा सरकारको कामलाई लिएर पनि प्रश्‍न उठेको छ। केन्द्रीय सदस्यहरुले पार्टीले सम्हालेका मन्त्रालयले नै जनअपेक्षा अनुसार काम गर्न नसकेको बताएका छन्। ‘कांग्रेसले सम्हालेका मन्त्रालयले पनि जनअपेक्षा अनुसार काम गरेको देखिएन। यसले पार्टीप्रति कसरी आकर्षण बढ्छ?’ केन्द्रीय सदस्यहरुको प्रश्‍न थियो।

बैठकमा कार्यवाहक प्रधानमन्त्री एवं कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले भने शिक्षकहरु वार्ताबाट भागिरहेको आरोप लगाए। उनले पार्टी निकट शिक्षक संघकै अध्यक्षले समेत आफूले ताकेता गर्दा पनि वार्तामा रुची नदेखाएको बताए। ‘मैले आफैं वार्ताका लागि अग्रसरता लिंदा पनि शिक्षक संघका अध्यक्षले विभिन्न बहानाबाजी गरेको अवस्था छ’, खड्काले भने।

उनले शिक्षामन्त्रीले आफ्नै उपस्थितिमा वार्ता गर्न खोज्दा पनि शिक्षकहरुले अस्वीकार गर्नुलाई स्वाभाविक मान्न नसकिने बताए। शिक्षा मन्त्रालयले असोज २ गते अपराह्न ३ बजे वार्तामा बोलाएको थियो। तर नेपाल शिक्षक महासंघले मन्त्रालयसँग यसअघि पटक पटक भएका सहमति कार्यान्वयन नभएको भन्दै वार्तामा बस्नुको ‍औचित्य नरहेको बताएको थियो।

महासंघको आह्‍वानमा शिक्षकहरु बिहिबार पठनपाठन ठप्प पारेर प्रदर्शनमा उत्रिएका हुन्। उनीहरुले विद्यालय शिक्षा विधेयकमा आफूहरुले भने अनुसारको व्यवस्था हुने सुनिश्‍चित नभएसम्म विद्यालय नखोल्ने सूचना निकालेका छन्।

केन्द्रीय समितिमा मनोनयनको आधार के?

बैठकमा गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले सभापति देउवाले केन्द्रीय समिति सदस्यमा बिहिबार गरेको मनोनयनलाई लिएर प्रश्‍न उठाए। ‘आज पनि तपाईंले केन्द्रीय सदस्य मनोनीत गर्नुभयो। केन्द्रीय सदस्य बन्ने योग्यता के हो?’, शर्माले सोधे, ‘केन्द्रीय सदस्य हुन के-के काम गर्नुपर्छ? के-के काम गरेपछि केन्द्रीय सदस्य हुन पाइन्छ भन्ने मापदण्ड हुनुपर्दैन?’

देउवाले केन्द्रीय समितिमा बिहिबार ८ जनासहित ३२ सदस्य मनोनीत गरेका छन्। उनले शर्माको प्रश्‍नमा ठोस जवाफ दिएनन्। देउवाले बैठकको सुरुमै ठाउँ कम भउकाले धेरै साथी छुटेको भन्दै छुटेकाहरुलाई महासमिति सदस्यमा मनोनीत गर्ने बताएका थिए।

बैठक शुक्रबार बिहान ११ बजे बस्ने गरी स्थगित गरिएको छ।