
काठमाडौं। रत्नपार्कदेखि सूर्यविनायक रुटमा मंगलबारदेखि द्रुत बस सेवा सञ्चालनमा ल्याउने तयारी पूरा भएको छ। रुटमा लेन छुट्याउने र रंग लगाउने काम सम्पन्न भएको छ। संविधान दिवसको अवसर पारेर सरकारले द्रुत बस सेवा सुरु गर्न लागेको हो।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग, यातायात व्यवस्था विभाग र काठमाडौं महानगरपालिकालगायतको समन्वयमा काम अघि बढेको हो।
उद्घाटनको सबै तयारी पूरा भएको यातायात व्यस्था विभागका निर्देशक ईश्वरी दत्त पनेरुले बताए।
‘हामीले सबै तयारी पूरा गरेका छौं। भोलिदेखि द्रुत बस सञ्चालन हुन्छ। अहिले परीक्षणकालीन मात्र हो,’ उनले भने ‘यो राम्रोसँग व्यवस्थापन हुन सकेमा निरन्तरता दिने हाम्रो योजना छ।’
सरकारले कार्यालय समयमा २/२ घन्टा गरेर दैनिक ४ घण्टा द्रुत सेवा सञ्चालन गर्न लागेको हो। अहिले सार्वजनिक सवारीका रुपमा प्रयोग भएका बस नै सञ्चालनमा आउने छन्।

पनेरुका अनुसार बस सञ्चालन गर्न रुट तय गरिएका छन्। ट्राफिक रेड लाइटमा पनि एम्बुलेन्स जसरी जानसक्ने गरी व्यवस्था मिलाइएको उनले बताए।
‘हामीले त्यसका लागि लगभग ट्राफिक प्रहरीसँगको सहमतिमा १०० जना थप ट्राफिक प्रहरीको जनशक्ति थपेका छौं,’ उनले भने ‘त्यही अनुसार रुटमा जताजता आवश्यक हुन्छन् त्यही अनुसार उहाँहरु बस्नुहुन्छ र द्रुत बस आउने समयमा खटिनुहुन्छ।’
द्रुतमार्गमा गुड्ने बसमा बोर्ड राखिएको हुन्छ। हरेक ५ मिनेटपछि एउटा बस छुट्नेगरी पिक एन्ड ड्रपका रुपमा बस सञ्चालन हुने पनेरु बताउँछन्। १९ वटा स्टपमा रोकेर यात्रु झार्ने र चढाउने व्यवस्था गरिएको छ। यात्रु झार्ने र चढाउने समय एकदेखि डेढ मिनेट तय भएको छ।
द्रुतमार्गमा कार्यालय समयमा अरु सवारीसाधान सञ्चालन गर्न पाइने छैन। बस रोक्ने स्थानमा पनि उक्त समय अरु सवारीसाधनले रोक्न पाउने छैनन्। यस्तै द्रुत बसको लागि रोक्ने स्टप बनाइएको स्थानमा पनि अन्य बस रोक्न नपाइने पनेरु बताउँछन्।

द्रुत सेवामा पनि भाडादर अहिलेकै कायम हुने पनेरुले बताए।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले बस सञ्चालनका लागि तयार रहेको बताए।
‘हामीले पनि यस्तै मास ट्रान्सपोर्टेसनलाई प्राथमिकतामा राख्दै आएका छौं,’ स्वाँरले भने ‘हामीले उपत्यकामा सार्वजनिक सवारीको व्यवस्थापन राम्रो बनाउन जुनसुकै कदममा पनि साथ दिने प्रतिवद्दता गरेका छौं।’
उनका अनुसार दैनिक चार घन्टा नभइ पूरा दिन चलाउन सरकारसँग आग्रह भएको छ।

उपत्यकाका प्रायः रुटमा कार्यालय समयमा सवारीसाधनकै कारण यात्रुलाई सास्ती हुने गरेको छ। विशेषगरि कार्यालय जाने व्यक्तिहरुले मार खेप्दै आएका छन्।
मास ट्रान्सपोर्टेसनको प्रोत्साहन गर्न परीक्षणका रुपमा सेवा सञ्चालनमा ल्याउन लागिएको सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालको भनाइ छ।
‘यो सुरुवात मात्र हो। दीर्घकालीन रुपमा सफलता पाउँछ वा पाउँदैन हेर्न बाँकी छ,’ ढकालले भने ‘हामीले स्टेक होल्डरलाई दबाब दिन पनि यो योजनाको सुरुवात गर्न लागेका हौं। अन्य देशहरुमा व्यवस्थित सहर र सडक भएकाले यस्ता मास ट्रान्सपोर्टेसनको व्यवस्थापन अगाडि नै भएको हुन्छ र त्यही अनुसार सडक पूर्वाधार पनि निर्माण भएका हुन्छन्। हाम्रोमा त्यो खालको व्यवस्थित सहरको परिकल्पना नगरिएकाले यसरी काम गर्न परेको छ।’

ढकालले संसारभर मास ट्रान्सपोर्टेसन दीर्घकालीन रुपमा सफल रहेको दाबी गरे।
‘अरु देशमा डेडिकेटेड बस लेन द्रुत बसहरुका लागि मात्र छुट्याइएका हुन्छन्। तर हाम्रोमा अहिले त्यो हुन सक्दैन। हाम्रोमा त्यही सडक हुँदै सबै गाडी सञ्चालन गर्नुपर्ने बाध्यता छन्,’ उनले भने।