दलको नेता फेर्ने ‘वार्मअप’मा शेखर-गगन एकजुट, शक्ति बढाउन सुरुमा सरकारको ‘पर्फर्मेन्स’मा प्रहार

नेत्र तामाङ
२०८० असोज २ गते २१:०५ | Sep 19, 2023
दलको नेता फेर्ने ‘वार्मअप’मा शेखर-गगन एकजुट, शक्ति बढाउन सुरुमा सरकारको ‘पर्फर्मेन्स’मा प्रहार


काठमाडौं। नेपाली कांग्रेसमा संस्थापन इतरका नेताहरुले संसदीय दलको नेता फेर्ने तयारी थालेका छन्। साउन पहिलो साता बसेको केन्द्रीय समितिमा नरम देखिएको यो समूहको अहिलेको सक्रियता यसमै लक्षित रहेको नेताहरु बताउँछन्।

Tata
GBIME

मंगलबार डा. शेखर कोइरालाले आफ्नो समूहको भेला डाकेर संस्थापन पक्षलाई नैतिक रुपमा कमजोर बनाउने रणनीति सुरु गरेका छन्। असोज ४ गते बस्न लागेको केन्द्रीय समितिमा संस्थापन इतर एकजुट भएर जाने निष्कर्ष बैठकले गरेको हो।

‘सरकारमा संविधान नमान्ने, पार्टीमा विधान नमान्ने,’ बैठकपछि कोइराला पक्षका नेता डा. गोविन्द पोखरेलले भने, ‘कांग्रेसले सरकारमा बसेर पनि जनताको आवश्यकताअनुसार काम गरेन। सरकारमा राम्रो पर्फर्मेन्स भएन। पार्टी उस्तै जथाभावी चलाइरहेको छ। अनुशासनको कारबाहीको नाममा ताकी-ताकी कारबाही गरेका छन्।’

यो विषयमा केन्द्रीय समितिमा जोडदार माग उठाउने तयारी संस्थापन इतरको रहेको उनको भनाई थियो। अघिल्लो केन्द्रीय समितिमा डा शेखरसमेत पार्टी सभापति शेरबहादुर देउवाबारे मौन बसेका थिए। त्यतिबेला महामन्त्री गगन थापाले बालकृष्ण खाण बचाउन लागिपरेको भन्दै सभापति देउवाको कार्यशैलीमाथि विरोध जनाएका थिए। तर गगनमाथि अधिकांश केन्द्रीय सदस्यहरुले प्रहार गर्दा शेखर मौन थिए।

संसदीय दलमा गगन अघि सरेपछि शेखर र गगन औपचारिक कार्यक्रममा विरलै सँगै देखिन्थे। दुई नेता सँगै देखिन छाडेपछि कांग्रेसका पूर्व जिल्ला सभापतिहरुले अनुपम फुडल्यान्डमा खिर खाने कार्यक्रम राखेका थिए। तर गगन कार्यक्रममा देखिएनन्। शेखर गगन मिलाउन नेता अर्जुननरसिंह केसीले भदौ २० गते भेला आयोजना गरे। तर नेता शेखर इटालीटार पुगेनन्।

यद्यपि ९ महिनापछि शेखर र गगन एकै ठाउँमा भएकाले शक्ति बढेको र इतर पक्षमा अझै शक्ति थपिने संकेत गरे कांग्रेस केन्द्रीय सदस्य मधु आचार्यले। ‘संस्थापन इतरको गुट बलियो बनाउँदै लाने विषयमा पनि छलफल भयो,’ आचार्यले भने।

पार्टी सभापति शेरबहादुर देउवाले लामो समयपछि केन्द्रीय सदस्यमा मनोनीत गरेका डा मिनेन्द्र रिजालको उपस्थितिले पनि यो पुष्टि भएको उनको संकेत थियो। यद्यपि १४औं महाधिवेशनमा रिजाल शेखर टिमबाटै महामन्त्रीका उम्मेदवार थिए। पुस ६ गते संसदीय दलको निर्वाचन यता शेखर र गगनबिच तिक्तता बढे पनि नेताद्वयले आशंकालाई अस्वीकार गर्दै आएका थिए।

संसदीय दलको नेता फेर्न ‘वार्मअप’

संस्थापन इतरमा फुटेर हिँड्दा कमजोर देखिएपछि शेखर र गगन फेरि एकजुट भएको बताइन्छ छ। बैठकमा सरकारले जनताको पक्षमा काम गर्न नसकेको विषयमा छलफल चल्दा कांग्रेस नेतृत्वकै समीक्षा गर्ने बेला भएको प्रसंग निस्कियो। यसमा संसदीय दलको नेता नै फेर्ने विषयमा नेताहरुबीच छलफल चल्यो। ‘संसदीय दलको नेता फेर्ने र कांग्रेसको नेतृत्वमा सरकार बनाउने विषयमा पनि छलफल भयो,’ बैठकमा सहभागी एक केन्द्रीय सदस्यले भने।

यद्यपि केन्द्रीय समितिमा यस विषयमा प्रवेश गर्नुअघि सुरुमा सरकारको काममाथि प्रहार गर्ने तयारी इतरले गरेको ती केन्द्रीय सदस्यले बताए। कांग्रेसले स्वास्थ्य मन्त्री मोहन बस्नेतदेखि केही मन्त्रीलाई सरकारबाट फिर्ता गराउने तयारीसमेत गरेको ती केन्द्रीय सदस्यको दाबी थियो। यद्यपि ती मन्त्री अहिले शेखरसँग मन्त्री पद जोगाइदिन बिन्ती बिसाउन आइपुग्ने गरेको पनि ती नेताको दाबी थियो।

बालुवाटारस्थित नेडा डा शेखर कोइरालाको सम्पर्क कार्यालय

बैठकको ब्रिफिङ गरेको केन्द्रीय सदस्य दिलेन्द्र बडूले भने संसदीय दलको नेता परिवर्तन मंगलबारको बैठकमा एजेन्डा नै नभएको दाबी गरे। ‘संसदीय दलको नेता फेर्ने विषय हाम्रोमा एजेन्डा नै थिएन। कांग्रेसको नेतृत्वमा सरकार बन्ने विषय पनि एजेन्डा बनेन,’ बडूले भने।

यद्यपि सरकारको काममाथि भने धेरै प्रश्न रहेको बडूको भनाई थियो। ‘सन्तोष भइहाल्ने स्थिति छैन सरकारको पर्फर्मेन्स। त्यसको समीक्षा होला। विधेयक ल्याउनै सकेको छैन सरकारले। बल्ल आएको शिक्षा विधेयक विवादमा छ,’ उनले भने।

सरकारले थालेको भ्रष्टाचारविरोधी अभियान त्यसै रोकेकोले कांग्रेस नेतृत्वमाथि थप शंका उब्जेको डा. पोखरेलले तर्क गरे। ‘भ्रष्टाचारको अभियान रोकिएको जस्तो देखिन्छ। कांग्रेस यो सरकारमा सहभागी दल हो। यो अभियान किन रोकियो भन्ने प्रश्न उठेको छ,’ पोखरेलले भने।

कोशी सरकारका कारण कांग्रेस अप्ठेरोमा

कांग्रेसको नेतृत्वमा कोशीमा दुई-दुई पटक सरकार बने पनि संविधानविपरीत भन्दै सर्वोच्च अदालतले उद्धव थापालाई पदमुक्त गरिदियो। यसले कांग्रेसलाई अप्ठेरोमा पुर्‍याएको अर्का केन्द्रीय सदस्य सञ्जय गौतमले बताए।

‘सरकारको गतिविधि हामीलाई चित्त बुझेको छैन। त्यो कुरा पनि भयो। कोशी प्रदेशको सरकारका कारण राजनीतिक रुपमा हामी अफ्ठेरोमा छौं,’ गौतमले भने।

सरकार अराजक बन्दै गएको विषयमा पनि केन्द्रीय समितिमा आवाज उठाइने उनले बताए।

‘सरकार बन्दै जाने क्रममा अराजकता फैलिएको छ। कसैले सिंहदरबारमा आगो लगाइदिन्छु भन्ने कसैले जातीय संघीयता ल्याउछु भनेको छ। कसैले लाखौं मान्छे सडकमा उतार्छु भनेको छ,’ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलक्षित भनाइ राख्दै गौतमले भने, ‘यी सबै परिवेशले गर्दा मुलुकको राजनीतिमा विचलन भएको हामी देख्छौं।’

यसका लागि कांग्रेस संस्थागत रुपमा अघि बढोस् भन्ने संस्थापन इतरको अपेक्षा रहेको उनले बताए।

कार्यतालिका कार्यान्वयन प्रमुख मुद्दा

भेलाको निर्णय सुनाउँदै केन्द्रीय सदस्य बडूले साउन १० को बैठकले तय गरेको कार्यतालिकाअनुसार काम गर्न नेतृत्वलाई सुझाउने तयारी गरेको बताए। ‘कार्यतालिका अनुसार काम भयो भएन भन्ने विषयमा केन्द्रीय समितिमा समीक्षा गर्ने। संसदभित्रको कुरा र सरकारको पर्फर्मेन्सको विषयमा छलफल भयो।’

यसैगरी आगामी महासमिति र नीति अधिवेशनको तयारीबारे पनि केन्द्रीय समितिमा आवाज उठाउने उनले बताए। कांग्रेसले आगामी मंसिर ११, १२ र १३ गते महासमिति बैठक गर्ने निर्णय गरेको छ।

भेलामा उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, सहमहामन्त्री बद्री पाण्डे र जीवन परियार नेताहरु बडू, दीपक गिरी, चन्द्र भण्डारी, सञ्जय गौतम, डा पोखरेल, प्रतिमा गौतम, सरिता प्रसाईं, गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री कृष्णप्रसाद नेपालीलगायत सहभागी थिए।