कांग्रेसको संस्थापनइत्तर समूहको भेला बालुवाटारमा, ८ महिनापछि शेखर-गगन एकै ठाउँमा

बिजमाण्डू
२०८० असोज २ गते १५:१८ | Sep 19, 2023
कांग्रेसको संस्थापनइत्तर समूहको भेला बालुवाटारमा, ८ महिनापछि शेखर-गगन एकै ठाउँमा


काठमाडौं। नेपाली कांग्रेसको संस्थापनइत्तर समूहको भेला सुरु भएको छ। नेता डा. शेखर कोइरालाले बोलाएको भेला बालुवाटारस्थित उनको सम्पर्क कार्यालयमा सुरु भएको हो।

Tata
GBIME
NLIC

भेलामा उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, सहमहामन्त्री बद्री पाण्डे र जीवन परियार तथा दिलेन्द्र बडू, दीपक गिरी, चन्द्र भण्डारी, सञ्जय गौतम, प्राडा गोविन्द पोखरेल, प्रतिमा गौतम, सरिता प्रसाईं, गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री कृष्णप्रसाद नेपाली लगायत नेता सहभागी छन्।

महामन्त्री थापा पार्टीमा संसदीय दलको नेता चयनका लागि भएको निर्वाचनपछि पहिलो पटक कोइरालाले राखेको भेलामा सहभागी भएका हुन्।

गत पुस ६ गते भएको निर्वाचनमा थापा पार्टी सभापति शेरबहादुर देउवासँग पराजित भएका थिए। संसदीय दलको नेता चयनका लागि भएको निर्वाचनपछि कोइराला पार्टी सभापति देउवासँग नजिकिएपछि थापा र कोइरालाको दूरी बढेको थियो। यसअघि संस्थापनइत्तर पक्षका नेता अर्जुननरसिंह केसीले डाकेको भेलामा कोइराला अनुपस्थित भएका थिए।

महाधिवेशनमा पराजित भएपनि सभापति देउवाले केन्द्रीय सदस्य मनोनीत गरेपछि उनैतिर ढल्किएको भनिएका मिनेन्द्र रिजालसमेत भेलामा सहभागी छन्। भेलामा सहभागी दिनेश कोइराला पार्टीको कारबाहीमा परेका नेता हुन्। चितवनमा स्वतन्त्र उम्मेदवारी दिएर एमालेको समर्थनमा चुनाव लडेपछि उनी पार्टीको कारबाहीमा परेका थिए।

नेता डा. कोइरालाले निम्ता दिएपनि अर्का महामन्त्री विश्‍वप्रकाश शर्मा भने सहभागी छैनन्। यस्तै कोइरालाले बोलाएका प्रदीप पौडेल पनि भेलामा छैनन्।

 केन्द्रीय समितिमा उठाउने विषयबारे छलफलका लागि संस्थापनइत्तर समूहले भेला गरेको हो। केन्द्रीय समिति बैठक असोज ४ गते बस्दैछ। बैठकमा विभाग गठन नगरेको, सरकारले जनतामा भरोसा जगाउने गरी काम गर्न नसकेको, पार्टीबाट सरकारमा सहभागी सदस्यको भूमिका लगायत विषयमा कुरा उठाउने कोइराला पक्षको तयारी छ। अहिले यिनै विषयमा छलफल भइरहेको भेलामा सहभागी एक केन्द्रीय सदस्यले जानकारी दिए।