
काठमाडौं। ६१ किलो सुन तस्करी प्रकरणमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारी आरोप प्रत्यारोपमा उत्रिएका छन्। प्रहरी हिरासतमा रहेका भन्सारका कर्मचारीले सरकारी वकिलसँगको बयानमा तस्करी हुनुको दोष एकले अर्कोमाथि थोपरेका हुन्।
यो प्रकरणमा अधिकृतहरु वीरेन्द्र नेपाली, सन्तोष चन्द र गणेश पौडेल, खरिदार कुमार ढकाल, सरोज श्रेष्ठ लगायत विमानस्थल भन्सारका ७ कर्मचारीविरुद्ध मुद्दा दायर गरिएको छ।
कार्यालयका जाँचकी कुमार ढकालले अवैधरुपमा आयात गरिएको सुन जाँचपास हुनुमा श्रेष्ठमाथि आरोप लगाएका छन्। ‘एक्सरेमा खटिएका सरोज श्रेष्ठले मलाई उक्त सामान आरसी लेखेको सम्बन्धमा मौखिक जानकारी नगराएको हुँदा ठिकै छ भनी जाँच पास गरेको हुँ,’ खरिदार ढकालले बयानका क्रममा भने। ढकाल २०७८ माघदेखि विमानस्थल भन्सारमा कार्यरत थिए।
आरसी अर्थात रेड च्यानल। यसले पुन जाँच गर्नुपर्ने जनाउँछ। विदेशबाट आएको सामानमा शंका लागे एक्सरेमा खटिएका कर्मचारीले आरसी लेख्नुपर्छ। त्यसपछि अरु कर्मचारीले जाँच गर्छन्। त्यस्तो सामान खोलेर, च्यातेर, फुटाएर समेत हेर्ने अधिकार भन्सारका कर्मचारीलाई छ।

विमानस्थल भन्सारबाट जाँच पास भएर बाहिरिएको सुन राजस्व अनुसन्धान विभागको टोलीले साउन २ गते बरामद गरेको थियो। यो प्रकरणको अनुसन्धानका क्रममा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले थप ३ सय २ किलो सुन विमानस्थलबाट तस्करी भएको सरकारी वकिल कार्यालयलाई बुझाएको प्रतिवेदनमा उल्लेख गरेको छ।
भन्सार अधिकृत चन्दले भने तस्करीको ६१ किलो सुन विमानस्थलबाट बाहिरिनुको दोष श्रेष्ठका साथै खरिदार ढकालमाथि पनि लगाएका छन्। ‘मालवस्तुमा आरसी लेखेको सम्बन्धमा सरोज श्रेष्ठ र कुमार ढकालले मलाई जानकारी नगराएको हुँदा ठिकै छ भनी जाँच पास गरेको हुँ’ चन्दले भनेका छन्।
श्रेष्ठले भने ब्रेक शुलाई एक्स-रे मेसिनमा ‘फुल जुम’ गरेर हेर्दा केहीमा पास र केहीमा पास नभएको हुँदा खोलेर जाँच गर्नुपर्छ भनी लेखेको बयान दिएका छन्।

‘१ सय ६० ब्रेक शु रहेका ८ कार्टुनमध्ये ४ वटामा नमेटिने खालको रातो मारकरले ठूलो अक्षरमा आरसी लेखेको थिएँ’, उनले बयानका क्रममा भनेका छन्, ‘तर मसँग सोधपुछ नगरी आरसी लेखिएका कार्टुन पनि मूल्यांकन गरेको देखियो।’
आफूले आरसी लेखेपनि ढकाल, मूल्यांकन शाखाका अधिकृत वीरेन्द्र नेपाली र पौडेल तथा खरिदार ढकालले पुन: जाँचका लागि बेवास्ता गरेको श्रेष्ठको आरोप छ। उनको बयान अनुसार सम्बन्धित अरु कर्मचारीले जिम्मेवारी पूरा नगरेको देखिन्छ।
अधिकृत पौडेलले यस्ता सामान नियमित आइरहेकाले जाँच पास गरेको बताएका छन्। भन्सारका कर्मचारीले पुन: जाँच गरेको भए भन्सारबाट सुन बाहिरिने थिएन।
सुन तस्करी प्रकरणमा कर्मचारीको संलग्नता पुष्टि गर्ने विभिन्न प्रमाण जुटाइएको सीआईबीका अधिकृतहरुले बताएका छन्। एसपी सञ्जय सिंह थापा, प्रहरी निरीक्षक विष्णु प्रदिप बस्याल र प्रहरी वरिष्ठ नायव निरीक्षक सूर्यभक्त श्रेष्ठले गरेको फरक फरक अनुसन्धानबाट तस्करीमा भन्सार कर्मचारीको संलग्नता पुष्टि भएको सीआईबीका उच्च अधिकृतहरुको दाबी छ।
यो प्रकरणमा हिरासतमा रहेका टासी भनिने थुप्तिङ छिरिङले पनि भन्सार एजेन्टको सहयोगमा हङकङबाट आएको तस्करीको सुन विमानस्थलबाट छुटाएको बताएका छन्। छिरिङले सुन व्यवस्थापन गर्न गोदाम खोज्ने लगायत भूमिका निर्वाह गरेका थिए।

प्रहरी प्रतिवेदनमा कर्मचारीमाथि शंकास्पद सामान समेत कुनै कैफियत नदेखिएको भन्दै जाँचपास गरेको उल्लेख छ। यसअघि भेपभित्रको ९ किलो सुन प्रकरणमा पनि भन्सारका अधिकृतसहितका कर्मचारी समातिएका थिए। उनीहरू हाल पुर्पक्षका लागि थुनामा छन्।
तर विमानस्थल भन्सारका कर्मचारीहरुले आफूहरुले कानुन अनुसार नै काम गरेको दाबी गर्दै प्रहरीले सोधपुछका नाममा मानसिक तनाव दिएको भनेर अनुसन्धान प्रभावित पार्न भदौ अन्तिम साता हड्ताल गरेका थिए। चौतर्फी आलोचनापछि कर्मचारी विरोधका कार्यक्रम अगाडि बढाउनबाट हच्किएका थिए।