
काठमाडौंं। अघिल्लो दिनको फराकिलो गिरावट लगत्तै सेयर बजारमा सामान्य वृद्धि देखिएको छ। ४.२६ अंकले बढेर सूचक १९६९ विन्दुमा कायम छ।
असोजका लागि बैंकहरुले ब्याजदर बढाएपछि आइतबार नेप्से सूचक ४२.१५ अंक घटेको थियो। २ हजार पार गरिसकेको सूचक पुनः सो विन्दु तल ओर्लिएको थियो। तर सोमबार भने सूचक झिनो अंकले बढेको छ।
बजारको सामान्य वृद्धिका बीच इमर्जिङ नेपालको सेयरमा सकारात्मक सर्किट लाग्यो। कम्पनीका सेयरधनीले आज ९५.८ रुपैयाँ कमाए। उक्त सेयरको मूल्यले १ हजार रुपैयाँ पार गरेको छ। थ्रि स्टार हाइड्रो र भूगोल इनर्जीमा पनि खरिद चाप छ।
बजारको वृद्धि पूर्ण रुपमा जलविद्युत र व्यापार समूहअन्तर्गतका सेयरमा बाक्लिएको खरिदले डोर्याएको देखिन्छ। दुवै समूह १ प्रतिशतभन्दा बढी दरले बढेका छन्।
सोमबार वाणिज्य बैंक बाहेक अधिकांश उपसूचकहरु हरिया छन्। वाणिज्य बैंकहरुले धमाधम लाभांश घोषणा गर्दा समेत लगानीकर्ताको रोजाइमा नपरेको देखिन्छ।
३०.५ प्रतिशत लाभांश प्रस्ताव गरेको एनआइसी एसियाको सेयर मूल्य ८.१० रुपैयाँले घट्यो। त्यस्तै एभरेष्ट बैंकको सेयर मूल्य ३.१० रुपैयाँ घटेको छ। बैंकले गत आवका लागि २०.५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो।
सानिमा बैंकको सेयर मूल्य पनि डेढ रुपैयाँ घटेको छ। बैंकले १४.७ प्रतिशत लाभांश दिने घोषणा गरेको छ।
अर्कोतर्फ सूचक हरियो देखिए पनि कारोबार ह्वात्तै घटेको छ। अघिल्लो दिन २ अर्ब नाघेको कारोबार रकम सोमबार ८७ करोडमा सीमित छ। कारोबारमा एकैदिन झन्डै ५७ प्रतिशतको गिरावट देखिएको हो।