बुटवलमा २२ करोड लागतको वधशाला संचालनमा आउँदै, अव्यवस्थित पशु बध रोक्ने तयारी



बिजमाण्डू
२०८० असोज १ गते १२:०६ | Sep 18, 2023
बुटवलमा २२ करोड लागतको वधशाला संचालनमा आउँदै, अव्यवस्थित पशु बध रोक्ने तयारी

काठमाडौं। बुटवलमा आधुनिक पशु बधशाला संचालनमा आउने भएको छ। बुटवल उपमहानगरपालिका र मुक्तिनाथ लाइभस्टक बैंक लिमिटेडबीच यही असोजदेखि वधशाला संचालन सम्झौता भएको हो।

Tata
GBIME
Zonsen

बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी र मुक्तिनाथ लाइभस्टकका संचालक तथा कम्पनी प्रतिनिधि रामशरण तिमिल्सिनाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

सम्झौताअनुसार मुक्तिनाथ लाइभस्टकले असोजभित्रै वधशाला संचालनमा ल्याउनेछ। बुटवल-१० रामनगरमा २ बिघा ३ कट्ठा क्षेत्रफलमा बनेको वधशाला संचालनका लागि यसअघि सहमति भए पनि विधि र प्रक्रिया नपुगेपछि उपमहानगरले गत असारमा पुनः बोलपत्र आह्वान गरेको थियो।

नयाँ प्रक्रियाअनुसार मुक्तिनाथ लाइभस्टकले वार्षिक ५८ लाख ३८ हजार ७१० रुपैयाँ उपमहानगरपालिकालाई बुझाउने छ। पाँच वर्षका लागि गरिएको सम्झौताअनुसार हरेक वर्ष १० प्रतिशतका दरले रकम वृद्धि हुने उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बताए।

उनका अनुसार पशु वधशाला संचालन गर्दा पशु वधशाला र मासु ऐन, २०५५, पशु स्वास्थ्य तथा सेवा ऐन, २०५५, फोहरमैला व्यवस्थापन ऐन, २०६८, वातावरण संरक्षण ऐन, २०७६ र उपभोक्ता संरक्षण ऐन, २०७५ को पालना गर्ने गरी सम्झौता भएको छ।

सम्झौता कार्यान्वयनमा आएपछि बुटवल नगरभित्र पशु वधशालाबाहेकका स्थलमा र पशु बध गरेको पाइएमा कारबाही हुने जनाइएको छ। बुटवल उपमहानगरपालिकाको पशु वधशाला व्यवस्थापन र संचालन ऐन, २०७९ अनुसारको यो व्यवस्था कार्यान्वयनमा आएपछि बुटवलमा रहेका मासु पसलले खसी बोकाको मासु बिक्री गर्दा पशु वधशालामा बध गरी प्रमाणीकरण गरेको मासुमात्रै बिक्री गर्न पाउने छन्।

वधशाला संचालनमा आएपछि नगरवासीले स्वस्थकर मासु उपभोग गर्न पाउने बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए। उनका अनुसार वधशाला संचालनपछि बुटवलबाहिरका सहरमा समेत मासु बिक्री गर्न सकिने छ।

बुटवल उपमहानगरपालिकाको नगरसभाबाट पशु वधशाला संचालन र व्यवस्थापन ऐन, २०७९ पारित भइसकेको छ। ऐनअनुसार पशु वधशाला संचालन तथा व्यवस्थापन गर्ने, मापदण्ड पूरा गरी बध गर्ने, बिक्री केन्द्रसम्म ओसारपसार गर्दा मापदण्ड पूरा भएका साधनको मात्रै प्रयोग गर्ने, बिक्री गर्न इजाजतपत्र लिनुपर्नेजस्ता व्यवस्था गरिएको छ।

वधशालालाई यस क्षेत्रका ठूला बजारसँग ग्रामीण क्षेत्रलाई प्रत्यक्षरूपमा जोड्ने नमूना परियोजनाको रूपमा २०७७ असार ३१ गतेबाट बुटवल उपमहानगरपालिकाले निर्माणकार्य अघि बढाएको हो। यो परियोजना सार्वजनिक–निजी–उत्पादक साझेदारीलाई एकैठाउँ जोडेर निर्माण गरिएकाले पनि यसले गाउँ र सहरलाई जोडेर उत्पादन, बजारीकरण र आर्थिक विकासलाई महत्व दिइएको बुटवल उपमहानगरपालिकाका पूर्वप्रमुख शिवराज सुवेदीले बताए।

परियोजनाअन्तर्गत उपमहानगरपालिका, लुम्बिनी प्रदेश सरकारको आर्थिक लगानी र हेफर इन्टरनेशनलको प्राविधिक सहयोगमा निर्माण सुरु भएको हो। करिब २२ करोड लगानीमा निर्माण भएको वधशाला क्षेत्रमा खसी–बोकाको चरन, होल्डिङ सेन्टर, पशु स्वास्थ्य जाँच तथा उपचारकक्ष, वधशालामा खटिनेका लागि प्राथमिक उपचारकक्ष, सुरक्षाकक्ष, फोहर प्रशोधन केन्द्र, हरियाली उद्यान र बगैँचा निर्माण भएको छ।

वधशाला पूर्णरूपमा संचालनमा आउँदा बजारको मागअनुसार एक हजार खसीबोका खपत हुने क्षमताको रहने छ। यस्तै यसमा हरेक दिन २५० खसीबोका चिस्यान गर्न सकिने, १ लाख २५ हजार लिटर फोहर पानी प्रतिदिन प्रशोधन हुने र प्रतिदिन २.५ मेट्रिक टन क्षमताको बायो डाइजेस्टर संचालनमा आउने प्राविधिक प्रतिवेदनमा उल्लेख छ।

यहाँबाट निस्किने फोहर प्रशोधन गरेर बायोग्यास निकालिने छ भने पानीलाई पुनः प्रयोग गर्न मिल्ने गरी प्रशोधन गर्ने योजना छ। वधशालालाई छिट्टै संचालनमा ल्याउने गरी तयारी अगाडि बढाउने र यस क्षेत्रका किसान र व्यवसायीलाई जोडेर व्यवस्थित तरिकाले संचालन गर्ने मुक्तिनाथ लाइभस्टक बैंकका संचालक तिमिल्सिनाले बताए। रासस