
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले घोडचडी र पौडी खेल्नु आफ्नो बाल्यकालको सौख रहेको बताएका छन्।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले राष्ट्रिय बाल दिवसका अवसरमा राष्ट्रपतिसँग बालबालिका विषयक शीतल निवासमा आइतबार आयोजना गरेको कार्यक्रममा राष्ट्रपति पौडेलले आफ्नो बाल्यकालको अनुभव सुनाएका हुन्।
‘पौडी र घोडचढीले मलाई अहिलेसम्म स्वस्थ रहन सहयोग पुर्याएको छ,’ राष्ट्रपति पौडेलले भने, ‘अहिले त स्वीमिङ पुल छन् त्यसैमा पौडी खेल्छन्। हाम्रा पालामा त सानो पोखरी, आहाल र खोलामा पौडी खेल्न पर्थ्यो। म पनि खोला र सानो पोखरी देख्यो कि हाम फालिहाल्ने गर्थेँ।’
पौडेलले आफूहरूको पालामा बालबालिका नितान्त प्रकृतिसँग भिजेर हुर्किएको बताए। बालबालिकाको जीवन सबैभन्दा निर्धक्कको र चिन्तारहित अर्थात शोक न सुर्ता भोक न भकारीको रहने गरेको स्मरण उनले गरे। राष्ट्रपति पौडेलले महाकवि लक्ष्मीप्रसाद देवकोटाको कविता स्मरण गर्दै आफू फेरि बालक बन्न मन लागेको बताए।
अहिलेको बालबालिका भन्दा आफ्नो पालाका बालबालिकाको जीवन फरक रहेको स्मरण गर्दै त्यसबेला धानको कुनियो, बिटा र भकारीमा लुकामारी खेलेको, गाईबस्तु चराउने गरेको, भातपकाई खेल्ने गरेकाले हिलोमैलो र धुलोमा खेल्दै प्राकृतिक तवरले बिताएको बताए।
‘हाम्रो पालामा शिक्षाको प्रचार अलि ढिलो भयो, अहिले जस्तो विद्यालय भवन, कूर्ची बेञ्च थिएन, हजुरबाले घरमा राख्नुभएको गुरुबाट शिक्षा प्राप्त गरे, घरनजिकैको वरपीपलको चौतारीका ढुंगाका छपनीमा बसेर पढियो, सानो काठको पाटीमा रातोमाटोको धूलो राखेर खरको डाँठले लेखेर कखरा अक्षर चिनेको हो,’ पौडेलले बाल्यकाल सम्झँदै भने।
राष्ट्रपति पौडेलले हिजोको भन्दा आजको रहनसहन र जीवनस्तर बदलिएकाले अहिलेका बालबालिकाको कुरा सुन्दा परिपक्व र विचारमा सचेत रहने गरेको पाएको बताए। तरपनि अहिलेको आधुनिक समयमा बालबालिकाको लागि शिक्षा र सुविधा अझै पर्याप्त र गुणस्तरीय हुन नसकेको भन्दै उनीहरुको सर्वाङगीण विकासको लागि सरकारले अझै धेरै काम गर्न आवश्यक रहेको बताए।
पौडेलले बालबालिकाको आधारभूत आवश्यकतासहित समग्र नेतृत्व विकासको विषयलाई नारामा सीमित नराखी सरकारले व्यवहारमै देखिने गरी काम गर्न सुझाव दिए।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले बालबालिका भनेका भविष्यका कर्णधार हुन् भन्ने कुरा बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी भन्ने यसवर्षको बाल दिवसको नाराले नै पुष्टि गरेको भन्दै उनीहरुले उठाएका माग पूरा गर्न सरकार प्रतिवद्ध रहेको जनाए।
मन्त्रालयका सचिव सुमनराज अर्यालले सामाजिक, आर्थिक लगायतका विविध समस्या रहेपनि बालबालिकाको संविधानप्रदत्त हक अधिकार व्यवहारमा कार्यान्वयन गर्न सरकारले काम गर्दै आएको बताए।
बालबालिकाको तर्फबाट बोल्दै कीर्तिपुरकी प्रेक्षा अधिकारीले बालबालिकामा लगानी भनेको मानव विकासको लागि भएको र यसले जीवनभर सन्तोष दिने भन्दै समृद्ध नेपाल जब बालबालिकाप्रति सचेत र सजग भएमात्र हुने बताइन्। उनले ८० को दशकलाई बालबालिकामा लगानी दशक घोषणा गर्दै कार्यान्वयनमा ल्याउन माग गरिन्।