हिमालयन रिले सवा ६ अर्बको आइपीओ ल्याउन सेबोनमा दियो आवेदन‚ प्रिमियम मूल्य २०८

बिजमाण्डू
२०८० भदौ ३१ गते १४:४८ | Sep 17, 2023
हिमालयन रिले सवा ६ अर्बको आइपीओ ल्याउन सेबोनमा दियो आवेदन‚ प्रिमियम मूल्य २०८


काठमाडौं। हिमालयन रिइन्स्योरेन्सले आइपीओ निष्कासन प्रक्रिया अघि बढाएको छ। कम्पनीले प्रिमियममा आइपीओ निष्कासन गर्न धितोपत्र बोर्डमा निवेदन दिएको छ।

Tata
GBIME

प्रति कित्ता २०८ रुपैयाँका दरले आइपीओ जारी गर्ने कम्पनीको योजना हो। कुल तीन करोड कित्ता आइपीओ निष्कासन गर्ने भएको छ। जसको कुल मूल्य ६ अर्ब २४ करोड रुपैयाँ हुन आउँछ।

कम्पनीको चुक्ता पुँजी ७ अर्ब रुपैयाँ छ। जारी पुँजी १० अर्ब रुपैयाँ हो। जसको ३० प्रतिशत रकम आइपीओ जारी गरेर चुक्ता पुँजी पुर्‍याउने कम्पनीको तयारी छ। गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनमै पनि कम्पनीले आउँदो असारभित्रै प्राथमिक सेयर निष्कासन गर्ने लक्ष्य लिएको उल्लेख छ।

सरकारी लगानीको नेपाल पुनर्बीमा कम्पनीपछि लाइसेन्स पाएको हिमालयन री नेपालको दोस्रो पुनर्बीमा कम्पनी हो।

कम्पनीले गत आर्थिक वर्षको वित्तीय प्रतिवेदन सार्वजनिक गरिसकेको छैन। यद्यपि गत चैतसम्म २५ करोड ४४ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ। अघिल्लो आर्थिक वर्ष सकिँदा २७ करोड ३९ लाख रुपैयाँ र २०७७/७८ मा ९४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

सञ्चालनको पहिलो वर्ष १००.१३ रुपैयाँ रहेको प्रति सेयर नेटवर्थ पनि ०७८/७९ सकिँदासम्म १०३.९१ रुपैयाँ पुगिसकेको छ। सोहीअनुसार कम्पनीले प्रति सेयर नेटवर्थको दुई गुणा प्रिमियम तय गरेर निवेदन दिएको हो।

विद्यमान व्यवस्था अनुसार औसत मूल्य र संगठित संस्थाको पछिल्लो लेखा परीक्षण भएको वित्तीय विवरण अनुसारको प्रति सेयर नेटवर्थको दुई गुणाले हुन आउने मूल्यमा जुन कम हुन्छ सो रकमलाई प्रिमियम कायम गर्नु पर्नेछ।

हिमालयन रिइन्स्योरेन्समा नेपालका प्रमुख व्यापारिक घराना सबैजसोको लगानी छ। उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छाको हंसराज एण्ड हुलदासचन्दको २.८६ प्रतिशत, एमएस कर्पका अध्यक्ष शशीकान्त अग्रवालको २.१४ प्रतिशत, कान्तिपुर मिडिया ग्रुपका कैलाश सिरोहियाको १.४३ प्रतिशत लगानी छ।

यसबाहेक शंकर ग्रुप, इन्फिनिटी होल्डिङ्स, मुरारका ग्रुप, एमभी दुगड ग्रुप, के एल दुगड ग्रुप र आइएमई ग्रुप लगायतको लगानी पनि कम्पनीमा छ।