आर्थिक मन्दीका बेला श्याम एग्रो समूहले संचालनमा ल्यायो चामलदाल र मैदा उद्योग

अनन्तराज न्यौपाने
२०८० भदौ २९ गते १२:१५ | Sep 15, 2023
आर्थिक मन्दीका बेला श्याम एग्रो समूहले संचालनमा ल्यायो चामलदाल र मैदा उद्योग


विराटनगर। चरम आर्थिक मन्दी चलिरहेका वेला एउटै समूहले पूर्वमा दुई उद्योग संचालनमा ल्याएको छ। विगत १२ वर्षदेखि ‘घरेलु’ ब्रान्डको तोरीको तेलको उत्पादन र कारोबार गरिरहेको श्याम एग्रो समूहले मैदा र चामलदालको उद्योग संचालनमा ल्याएको हो।

Tata
GBIME

दुबै उद्योगमा गरी स्थिर पुँजी ३५–३५ करोड र चालु पुँजी ५०–५० करोड गरी कुल १७० करोडको लगानी छ। श्याम एग्रो समूहमा जीवन रिजाल, श्रवण अग्रवाल, मुकेश अग्रवाल, हितेश खेतान, राजु राठी लगायतका उद्योगी संलग्न छन्। पूर्वमा यो समूह धान, गहुँ, मकै लगायतका खाद्यान्नको ठूलो मौज्दातकर्ता (स्टकिस्ट) पनि हो।

मोरङको बुढीगंगा गाउँपालिकाको हात्तीमुढामा सञ्चालनमा आएको स्वस्तिक राइस एन्ड पल्सेस इन्डस्ट्रिजले २४ घण्टामा १६० टन धानको प्रशोधन गर्ने क्षमता राख्छ। समूहका सञ्चालक श्रवण अग्रवालले अहिले आर्थिक मन्दीले बिक्री घट्दा उद्योग १२ घण्टा मात्र सञ्चालन भइरहेको जानकारी दिए।

उद्योगी अग्रवालले स्वस्तिक राइस एन्ड पल्सेस इन्डस्ट्रिजले बारसिंगे, खुशी, घुँगरु ब्रान्डमा ३ जातका चामलको उत्पादन गरिरहेको बताए। उद्योगले जिरामसिनो, सोना मन्सुली र कान्छी मन्सुली जातका धानको प्रशोधन गरिरहेको छ। तीन वटै जातका धानबाट फुल स्टिम, हाफ स्टिम र ननस्टिम गरी तीन प्रकारकै चामलको उत्पादन भइरहेको छ।

उनले धानको अभावमा उद्योगले बास्मती चामलको उत्पादन भने अहिले नगरेको उल्लेख गरे । बासमती चामलको उत्पादन आगामी माघ महिनादेखि गरिने उनले बताए। उनले स्वस्तिक उद्योगका चामलको बजारीकरण देसैभरि गरिने बताए। उनले उद्योग पूर्ण अटोमेटिक भएको र १५ मजदुर मात्र भएको स्पष्ट पारे।

अग्रवालका अनुसार भारतले धानको निर्यात बन्द गरेपछि अहिलेदेखि नै नेपालका उद्योगलाई कच्चा पदार्थको अभाव भइरहेको छ। सन् २०२४ का लागि भारत सरकारले नेपालका लागि धानको कोटा नदिए यहाँ ठुलो संकट उत्पन्न हुनेछ। उनले देसैभरिका सीमान्त क्षेत्रमा अनधिकृत मार्गबाट चामलको आयात ठुलो मात्रामा भइरहेको र सरकारले यसलाई रोक्न नसकेको आरोप लगाए।

उद्यमी श्रवणले उद्योगमा दालको उत्पादन गर्न अझै एक वर्षको समय लाग्ने स्पष्ट पारे। सो समूहले स्वस्तिक फ्लोर मिल्सका नाममा खोलेको मैदा उद्योग इटहरी नगरपालिकाको सोनापुरमा अवस्थित छ।

उद्योगले दैनिक २०० टन गहुँ प्रशोधन गर्ने क्षमता राख्छ। अहिले उद्योगमा परीक्षण उत्पादन मात्र भइरहेको उद्यमी श्रवणको भनाइ छ। उद्योग पूर्णतः स्वचालित भएकाले १५ कामदार मात्र राखिएको छ।

उनले उद्योगका लागि चाहिने कच्चा पदार्थ गहुँ भारतबाट आयात भइरहेकाले यसको खासै अभाव नभएको जनाए। पूर्वमा मैदाका ठुला उद्योग ६ वटा छन्। जसमा विशाल मैदा मिल, गोमती फुड्स, न्यूट्री फुड्स र महालक्ष्मी फ्लोर मिल्सका एकएक वटा गरी चार वटा उद्योग छन्।

बाबा फ्लोर मिल्सले मोरङमा १ र सुनसरीमा १ गरी २ वटा उद्योग सञ्चालन गरिरहेको छ। यही सूचीमा भदौदेखि स्वस्तिक फ्लोर पनि थपिएको छ।