
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको अध्यक्षतामा बसेको बैठकले सहरी क्षेत्र सार्वजनिक यातायात परिषदको कार्यक्षेत्रमा पर्ने यातायात व्यवस्थापनसँग सम्बन्धित कुनै पनि निर्णय गर्नुअघि समन्वय गर्नुपर्ने निर्णय गरेको छ।
सहरी क्षेत्र सार्वजनिक यातायात परिषद्को बिहीबारको बैठकमा शाहले परिषद्ले आफ्नो क्षेत्रभित्रको काम थालेको बताए।
‘यसअघि संघीय र प्रदेश सरकार वा यातायात क्षेत्रको नियमन, व्यवस्थापन गर्ने कार्यालयले संचालन गरेका वा निर्णय गरेका कामलाई सार्वजनिक लाभ र दिगोपनाको विश्लेषण गरेर नियमित संचालन गरिनेछ। विगतमा गरिएका नीतिगत निर्णयको कार्यान्वयनको अवस्था तथा कार्यान्वयन भएका नीतिको नतिजालाई कार्यक्रम सञ्चालनको आधार बनाउन सकिन्छ’, उनले भने, ‘ऐनले प्रदान गरेका अधिकारमध्ये ९० प्रतिशत काम पालिकाले नियमित प्रक्रियाबाटै संचालन गर्न सक्नेछन्।’
बैठकले परिषदको कोष संचालन सम्बन्धमा छलफल गर्दै सरकारले यातायात व्यवस्थापनका लागि यसअघि गर्दै आएको खर्च कोषमा जम्मा हुने प्रणाली विकास गर्न सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ।
ललितपुर महानगरपालिकाका प्रमुख एवं परिषद्का उपाध्यक्ष चिरीबाबु महर्जनले संघीय राजधानी शहरी क्षेत्र सार्वजनिक यातायात ऐन २०७९ लागू भइसकेको अवस्थामा शहरी सार्वजनिक यातायातसँग सम्बन्धित विषयमा राज्यको कुनै पनि निकायले नयाँ निर्णय लिनुअघि परिषद्सँग समन्वय गरेर मात्र गर्न सबैलाई पत्राचार गर्नुपर्ने बताएका थिए।
सो बैठकमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले २० वर्ष अवधि पूरा गरेको गाडी विस्थापन गर्ने नीति गाडी कम्पनी र एजेन्टहरुलाई पोस्ने गलत नीति भएको भन्दै त्यसको विरोध गरेका थिए। यस्तै, उनले विद्युतीय गाडी संचालनमा ध्यान दिन सकेमा वर्षको खर्बौं व्यापार घाटा कम गर्न सकिन्छ बताएका थिए।
यस्तै, उनले सडक दुर्घटनाबाट वर्षको हजारौं मानिसले ज्यान गुमाउनुपरेको भन्दै जथाभावी सडक निर्माण गर्ने ठेकेदारहरुलाई कारबाहीको घेरामा ल्याउन नसकेसम्म सडक दुर्घटना कम नहुने बताए।
यातायातको राम्रो व्यवस्थाको लागि ठूल्ठूला बसहरु व्यापक रुपमा संचालनमा ल्याउनुपर्ने र त्यसलाई नियमित र व्यवस्थित गर्न सके साना निजी कार र मोटरसाइकल संचालनमा उल्लेखनीय ढंगले कमी आउने सक्ने बताए।
काठमाडौं महानगर प्रमुखको अध्यक्षतामा संघीय राजधानी सहरी क्षेत्र सार्वजनिक यातायात परिषद् रहने व्यवस्था छ। ललितपुर महानगरपालिकाका प्रमुख परिषद्को उपाध्यक्ष र भक्तपुर नगरपालिकाका प्रमुख परिषद्को सदस्य रहने व्यवस्था छ।
१ लाख बढी कारबाहीमा
सो बैठकमा चालु आर्थिक वर्षको अहिलेसम्मको अवधिमा सडक अनुशासन उल्लंघन गर्ने एक लाख १७ हजार ४६८ जनालाई कारबाही गरिएको जनाइएको थियो।
परिषद्को बैठकमा उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले चालु आवको हालसम्म सडक अनुशासन उल्लङ्घन गर्ने एक लाख १७ हजार ४६८ लाई कारबाही गरिएको जानकारी दिएका हुन्।
उनका अनुसार आर्थिक वर्ष २०७८/७९ मा पाँच लाख चार हजार ५९७ र आर्थिक वर्ष २०७९/८० मा आठ लाख ९५ हजार ६१ लाई कारबाही गरिएको थियो। बैठकमा उपरीक्षक भट्टले एक जना ट्राफिक प्रहरीले एक दशमलव ८७ किलोमिटर सडक क्षेत्रमा करिब एक हजार ६४८ सवारीसाधन व्यवस्थापन गर्नुपरेको जानकारी दिएका थिए।
परिषदको काम कर्तव्य र अधिकार
सार्वजनिक यातायातसम्बन्धी नीति, अल्पकालीन, दीर्घकालीन योजना र रणनीति तयार पार्ने, यात्रुमैत्री सार्वजनिक यातायातको सञ्चालन, व्यवस्थापन गर्ने, सूचना प्रविधिमा आधारित नगदविहीन (क्यासलेस) एकीकृत यातायात प्रणाली विकास गर्ने, वास्तविक समयमा आधारित सूचना प्रणाली विकास गर्ने तथा विकास गरिएका प्रणाली कार्यान्वयनमा ल्याउनु परिषदका मुख्य काम हुन्।
बस बिसौनी, बिसौनीमा सार्वजनिक शौचालय निर्माण र संचालन, पैदलयात्री, अपाङ्गता भएका व्यक्ति, साइकलयात्रीमैत्री सडक व्यवस्थापनपरिषदका मुख्य काम हुन्।
सार्वजनिक यातायातसँग सम्बन्धित विवरण संकलन, अभिलेखन, अद्यावधिक र गुणात्मक उपयोग गर्ने, आवास क्षेत्र, व्यापारिक केन्द्र वा सपिङ मलमा यातायात सेवा उपलब्ध गराएवापत सेवा शुल्क तोक्ने, रुट निर्धारण गर्ने, निर्धारण गरिएका रुटमा एकतर्फी, दोहोरो संचालन, तोकिएका सवारीसाधनलाई पूर्ण वा आंशिक निषेध गर्नेलगायत काम परिषदका मुख्य जिम्मेवारी हुन्।