ग्रेट हिमालयन ट्रेलमा अघि बढे पदयात्री, ५० लाख लागतमा १७०० किलोमिटर यात्रा



बिजमाण्डू
२०८० भदौ २८ गते १५:१५ | Sep 14, 2023
ग्रेट हिमालयन ट्रेलमा अघि बढे पदयात्री, ५० लाख लागतमा १७०० किलोमिटर यात्रा

फुङलिङ । बृहत् पदमार्ग भनिने ग्रेट हिमालयन ट्रेल पदमार्गमा पदयात्रा सुरु भएको छ। ताप्लेजुङदेखि सुरु हुने यात्राको पदमार्ग दार्चुलासम्म फैलिएको छ। यात्रा विदेशी नागरिकले ताप्लेजुङदेखि सुरु गरेका हुन्।

Tata
GBIME
Zonsen

प्राकृतिक सुन्दरताको अवलोकनसँगै उच्च हिमाली क्षेत्र हुँदै पदयात्राको अनुभव लिनका लागि पछिल्लो समयमा पर्यटकको रोजाइमा पर्दैछ। दुई विदेशीसहितको टोली ग्रेट हिमालयन ट्रेलको यात्रामा ताप्लेजुङबाट बिहीबार घुन्सा प्रस्थान गरे।

स्लोभेनियाका ६७ वर्षका मारिया आन्द्रेको नेतृत्वमा ग्रेट हिमालय ट्रायल पदमार्गका लागि यात्रा सुरु गरिएको हो। उनले यसअघि नै सगरमाथासहित ८ हिमालसमेत सफल आरोहण गरिसकेकी छन्। सन् १९९१ मा ताप्लेजुङमा कञ्चनजंघा हिमाल सफल आरोहण गरेकी आन्द्रेले अहिले ग्रेट हिमालयन ट्रेलको यात्रा गर्न नेपाल आएको बताइन्।

पदयात्रा गराउनका लागि सोलुखुम्बुका इनसुहाङ राई गाइड(पथ प्रदर्शक) छन्। उनका अनुसार ११५ देखि १२० दिन सम्ममा ग्रेट हिमालय ट्रेल पूरा गर्ने योजना छ।

दुई विदेशी, आवश्यक सामग्री बोक्ने शेर्पा र एक पथप्रदर्शक गरी पदमार्गमा यात्रा पूरा गर्नका लागि करिब ६० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको राईले बताए।

गत साता तीन विदेशीलाई ताप्लेजुङको सदरमुकाम फुङलिङबाट सुखद भ्रमणको कामनासहित बिदा गरिएको थियो। टोलीमा जर्मनीका लुकास र आन्ना तथा अष्ट्रेलियन नागरिक क्रिष्टोफर थिए।

उनीहरुलाई फुङलिङ नगरपालिकाका प्रमुख अमिर मादेनले भ्रमण सफलताको कामनासहित बिदाइ गरेका थिए।

भ्रमण टोली ग्रेट हिमालयन ट्रेलअन्तर्गत कञ्चनजंघा बेसक्याम्प घुन्साबाट ओलाङचुङ्गोला हुँदै लुम्बासुम्बा हिमालबाट संखुवासभाको मकालु बेस क्याम्पतर्फ जाने कार्यसूची रहेको पर्यटन व्यवसायी तेञ्जिङ नुपुले जानकारी दिए। उनीहरुको भ्रमण ग्रेट हिमालयन ट्रेलअन्तर्गत नेपाली पदमार्ग क्षेत्रमै केन्द्रित हुने जानकारी आफूले पाएकोसमेत उनले बताए।

ग्रेट हिमालयन ट्रेलअन्तर्गत नेपाली पदमार्ग भ्रमण पूरा गर्न करिब १५० दिन आवश्यक पर्ने विदेशी पर्यटकका पथप्रदर्शक सन्तोष तामाङले सुनाए। टोली फुङलिङबाट पदमार्ग हुँदै हाङ्देवा–मितलुङ–सिँवा–छिरुवातर्फ अघि बढेको छ। सडक सञ्जाल स्थापित हुनु अघि विदेशी पर्यटकले कञ्चनजंघातर्फ जान प्रयोग गर्ने यही मार्ग हो। पदमार्ग मात्र हुँदा विदेशी पर्यटकले सदरमुकाम फुङलिङबाट लेलेपतर्फको पदमार्ग प्रयोग गर्दा पहिलो क्याम्पका रुपमा मितलुङ, दोस्रो छिरुवा र तेस्रो लेलेपलाई प्रयोग गर्ने गरेका थिए।

करिब ४ हजार ५०० किलोमिटर लामो ग्रेट हिमालयन ट्रेलमध्ये नेपालमा मात्र करिब १ हजार ७०० किलोमिटर भाग पर्छ। यसले नेपालको पूर्वमा ताप्लेजुङको कञ्चनजंघादेखि पश्चिममा दार्चुलासम्मको भूभाग ओगटेको छ। नेपालभित्र मुख्य १० क्षेत्रलाई समेटेर ग्रेट हिमालयन ट्रेलको अवधारणा कोरिएको हो।

ग्रेट हिमालयन पदयात्राको पदमार्गमा बन्ने संरचना पूर्वदेखि पश्चिमसम्म एउटै गुणस्तरको बनाउने अवधारणा अघि सारिएको छ। ताप्लेजुङमा पर्यटकको चहलपहल हुन थालेसँगै पर्यटन व्यवसायी, होटल सञ्चालक तथा यातायात व्यवसायी उत्साहित भएको होटल व्यवसायी विमल भण्डारीले बताए। रासस