इयूको एयर सेफ्टी अडिट टोली प्राधिकरणमा‚ २१ वटै वायुसेवा कम्पनी ‘हाई अलर्ट’

बिजमाण्डू
२०८० भदौ २७ गते १२:३४ | Sep 13, 2023
इयूको एयर सेफ्टी अडिट टोली प्राधिकरणमा‚ २१ वटै वायुसेवा कम्पनी ‘हाई अलर्ट’


काठमाडौं। युरोपेली युनियन(इयू) को प्राविधिक टोलीको अडिट सुरु भएसँगै यतिखेर मुलुकमा दर्ता भएका २१ वटै वायुसेवा कम्पनी ‘हाई अलर्ट’मा छन्। टोली नागरिक उड्डयन प्राधिकरणसँगै तीनवटा वायुसेवाको विशेष अडिट गर्न आएको हो।

Tata
GBIME

टोलीले बाँकी कुनै पनि वायुसेवा कम्पनीको अडिट कुनै पनि बेला गर्न सक्ने तालिका रहेको प्राधिकरणका एक कर्मचारीले बताए। नेपाली वायुसेवालाई इयूले ‘हवाई सुरक्षा सूची’मा राखेको छ। यसले गर्दा नेपाली वायुसेवाले युरोपियन यूनियनका सदस्य मुलुकमा नियिमत व्यवसायिक उडान गर्न पाएका छैनन्।

उक्त सूचीबाट हटाउन नेपालले आग्रह गर्दै आएको छ। त्यसैको जाँचसँगै नेपाली वायुसेवा कति सुरक्षित र नियमन प्रणाली हेर्न टोली आएको हो। ‘इयूबाट आएको प्राविधिक टोलीले सोमबारबाट अडिट सुरु गरिसकेका छन्। प्राधिकरणको अडिट भइरहेको छ। अबको तीन दिनमा जुनै पनि बेला वायुसेवा कम्पनीहरुको अडिट हुनेछ‚’ उनले भने,’यतिखेर तयारी रहेका सबै वायुसेवा कम्पनी अलर्ट पो जिसनमा छन्।’

अडिटका लागि इयूको चार सदस्यीय टोली आइतबार नेपाल आइपुगेको हो। टोलीले प्राधिकरणका कामको प्राविधिकसँगै तीन वटा कम्पनीको अडिट गर्नेछ। टोलीले नेपाल वायुसेवा निगम, हिमालय एयरलाइन्स र श्री एयरलाइन्सको विशेष अडिट गर्ने पूर्व निर्धारित तालिका छ।

उनीहरुले नेपालको हवाई सुरक्षाबारे भदौ २९ सम्म अडिट गर्नेछन्। प्राधिकरणले अडिटका लागि हवाई सेवा प्रदायक ९ वटा र १२ वटा हेलिकोप्टर कम्पनीलाई तयारी अवस्थामा राखेको छ। टोलीले अडिट प्रतिवेदन ईयू मुख्यालयमा पेस गरेपछि नेपाल सुरक्षा सूचीबाट बाहिर आउने/नआउने नोभेम्बरमा निश्‍चित हुनेछ।