अटो शो’ले सजिँदै भृकुटीमण्डपः गाडी ल्याउने र सजाउने काम धमाधम, स्टलमै २० करोड खर्च

शुक्र गिरी
२०८० भदौ २५ गते २१:४६ | Sep 11, 2023
अटो शो’ले सजिँदै भृकुटीमण्डपः गाडी ल्याउने र सजाउने काम धमाधम, स्टलमै २० करोड खर्च


काठमाडौं। भृकुटीमण्डप झकिझकाउ छ। सधैं जानेहरुका लागि पनि नयाँ लाग्न थालेको छ। खुला चौरमा पाल हालिएको छ। पालभित्र स्टल निर्माण भइरहेका छन्। साइडका वालहरूमा ब्यानर राखिएका छन्। नयाँ–नयाँ ब्रान्ड र मोडलका गाडी तथा बाइकहरूका ब्यानर र फोटो भित्ताभरि टाँसिएका छन्।

Tata
GBIME

नाडा अटो शो’को १५औँ संस्करण मंगलबारदेखि सुरु हुँदैछ। गाडी बिक्रेता प्रदर्शनीको स्टल बनाइरहेका छन्। गाडी ल्याउने र प्रदर्शनको व्यवस्थापन गर्ने हतार व्यवसायीलाई छ। यो चटारो भदौ ३१ गतेसम्म जारी रहनेछ। 

अटो व्यवसायी मात्र हैन, दौडधुप बैंक वित्तीय संस्थालाई पनि छ। उनीहरु पनि आ-आफ्नो स्टल सजाउन लागिपरेका छन्। अटो शो’मा भाग लिने विभिन्न कम्पनीहरूले स्टल निर्माणको कामलाई तीव्रता दिइरहेका छन्।

अझै लाइटिङ, ब्यानर, सावरी ल्याउनेदेखि व्यवस्थापनका अन्य धेरै काम बाँकी छन्। सोमबार रातभर काम हुने एक अटो व्यवसायीले बताए। व्यवस्थापनको ६० प्रतिशत काम अघिल्लो दिन राति सम्पन्न हुने गरेको यसअघिका अनुभव एक व्यवसायीले सुनाए।

सजावटमा कसले राम्रो स्टल देखाउने एक प्रकारको होडबाजी नै देखिन्छ। जसमा ठूला गाडी बिक्रेताको हालीमुहाली छ। टाटा, बिवाइडी, सुजुकी, हुन्डाई, महिन्द्रा, फोर्ड जस्ता कम्पनीहरूले स्टल डेकोरेसनमा धेरै खर्च गरिरहेका छन्।

केही स्टलहरु लगभग तयारी अवस्थामा छन्। डिस्प्ले, ब्यानर र ब्रान्ड नेम राख्ने काम भने बाँकी देखिन्छ। बैंक तथा वित्तीय संस्थाको भने लगभग तयारी पूरा भएको छ।

टाटा, हुन्डाई, सेरेस, ओरालगायतका ब्रान्डको स्टल लगभग तयार अवस्थामा देखिन्छ। प्रदर्शनीसँगै काउन्सिलिङ रुम पनि धेरैले तयार पारिसकेका छन्। सँगै बैंक तथा वित्तीय संस्थाको स्टल पनि तयार छन्। 

यसपटक फोर्डको स्टल फरक बनिरहेको छ। स्टल पूरै खुला रूपमा तयार पारिँदै छ। अफरोड राइड गाडीको भाइब्स दिने प्रयत्न स्टलबाटै देखिन्छ।

सिट्रोनको स्टलको काम पनि लगभग सकिएको छ।

यसपाला बिवाइडी र नेटा-भी सँगै आमनेसामने छन्। दुबै कम्पनीले फरक थिममा स्टल निर्माण गरिरहेका छन्।

कभर्ड हल बाहिरका म्याक्सस, बुलिङ, स्काइवेलको स्टल भने लगभग तयारी अवस्थामा छन्। ग्राउन्डमा केही गाडी र बाँकी सबै बाइक तथा स्पेयर पार्ट्सका स्टल छन्।

शो’का लागि स्टल निर्माणमा मात्रै २० करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। विभिन्न ब्रान्डका सवारी साधन तथा यसका पाटपूर्जा बिक्रेताले भाग लिने अटो शोमा एउटा स्टल बनाउन ७५ लाख रुपैयाँसम्म खर्च गरेको एक व्यवसायीले बताए।

स्टल निर्माणको खर्च प्राय उत्पादक कम्पनीले गर्ने गरेको एक व्यवसायीले बताए।

टाटा, महिन्द्रा, सुजुकी, बिवाइडी, निसान, हुन्डाई र एमजी जस्ता कम्पनीले स्टलमा ठूलो खर्च गरेका छन्।

प्रदर्शनीमा १६ वटा ब्रान्डका चार पाङ्ग्रे, २२ वटा ब्रान्डका दुई पाङ्ग्रे, ७ वटा ब्रान्डका लाइट कमर्सियल भेहिकल, ९ वटा वित्तीय संस्था तथा ३० वटा लुब्रिकेन्ट, टायर, ब्याट्री, पार्टपूर्जा एवं ग्यारेज उपकरण कम्पनीहरूको स्टल रहनेछन्।