
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले आजैदेखि महानगरमा गर्नुपर्ने कामको सूची पेस गरेका छन्। आज बसेको सिनियर म्यानेजमेन्ट टिम (एमएमटी) बैठकमा उनले कुनै पनि कारणले महानगरको कार्यक्रममा ढिलाई नगर्न निर्देशन पनि दिएका छन्।
अधिकारीले पेस गरेको तत्काल गर्नु पर्ने कामको सूचीमा हाइमास्ट लाइट जडान गर्ने, विद्युतीय सेवा सुरु, कार्यालय परिसर र शहरी क्षेत्रमा पार्किङ व्यवस्थापन, स्वास्थ्य प्रवर्धन केन्द्र संचालन, सामुदायिक कुकुरको बन्ध्याकरण, अनुगमन सूचक (पूर्वाधार, वडा स्तर, विभाग, आयोजना तथा कार्यक्रम स्तर, सार्वजनिक खरिद मूल्यांकन प्रक्रिया) निर्माण रहेको छ।
यस्तै, कार्यपालिका बैठकबाट भएका निर्णयको कार्यान्वयन, ऐन कार्यान्वयनको अवस्था, आवश्यक पर्ने कार्यविधि निर्माण, महानगर गौरव र स्वर्णिम योजना कार्यान्वयन, आकाशे पुलमा शिशाका बार बनाउने, सडक पेटीलगायत संरचनाहरुको नियमित मर्मत सम्भार, यातायात व्यवस्थापन, सार्वजनिक शौचालय निर्माणलगायत काम छन्।
यस्तै काठमाडौं प्लाजामा स्तनपान कक्ष निर्माण गराउने जस्ता काम पनि उनले सूचीमा राखेका छन्।
सो बैठकमा उनले गएको वर्षभन्दा महानगरको काममा सुधार आउनुपर्ने बताएका थिए। त्यसक्रममा विभिन्न विभागीय प्रमुखले योजना कार्यान्वयनको प्रगति विवरण पेस गरेका थिए।