
विराटनगर। कोशी प्रदेशमा बजेट शून्यताको स्थिति अन्त्य भएको छ। सरकारको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले आइतबार बजेटसम्बन्धी अध्यादेश जारी गरेसँगै कोशीमा बजेट शून्यताको स्थिति अन्त्य भएको हो।
भदौ २२ गते मुख्यमन्त्री नियुक्त भएका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले त्यो दिन सपथपछि मन्त्रिपरिषद्को बैठक राखेर बजेटसम्बन्धी अध्यादेश जारी गर्न सिफारिस गरेका थिए।
मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख खापुङले आइतबार कोशी प्रदेश आर्थिक अध्यादेश र कोशी प्रदेश विनियोजन अध्यादेश जारी गरेको प्रदेश प्रमुखको कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
यसअघि अध्यादेशमार्फत ल्याइएको बजेटमा कुनै फेरबदल नगरी जस्ताको त्यस्तै फेरि बजेटसम्बन्धी अध्यादेश ल्याइएको हो। अध्यादेश अनुसार चालु आर्थिक वर्षका लागि ३६ अर्ब २४ करोड ३५ लाख १० हजार रुपैयाँको बजेट ल्याइएको छ।
चालुतर्फ १४ अर्ब ३९ करोड ६२ लाख ६६ हजार, पुँजीगततर्फ १८ अर्ब २३ करोड ५२ लाख, वित्तीय व्यवस्थातर्फ १ करोड र वित्तीय हस्तान्तरणतर्फ ३ अर्ब ६० करोड २९ लाख ९२ हजार रुपैयाँ बजेट छ ।

कोशी प्रदेश भदौ ११ देखि बजेट शुन्यताको स्थितिमा थियो। कार्की नेतृत्वको तत्कालीन सरकारको सिफारिसमा गत जेठ ३२ गते जारी बजेट अध्यादेश भदौ १० गते निष्क्रिय भएको थियो। उनीपछि मुख्यमन्त्री भएका उद्धव कार्कीले उक्त अध्यादेशको प्रतिस्थापन विधेयक ल्याउन सकेका थिएनन्। थापा कार्कीपछि दुई पटक मुख्यमन्त्री नियुक्त भएकामा दुवैपटक सर्वोच्चको आदेशमा पदमुक्त भएका थिए।
अध्यादेश जारीपछि प्रदेशसभा बैठक बसेको ६० दिनभित्र सरकारले प्रतिस्थापन विधेयक ल्याएर पारित गराउन नसके स्वत: निष्क्रिय हुने संवैधानिक व्यवस्था छ।