फुकेटको पर्यटन व्यवसायमा रसियालीको हालीमुहाली, काम खोसिएको भन्दै स्थानीय आक्रोशित

बिजमाण्डू
२०८० भदौ २४ गते १०:१४ | Sep 10, 2023
फुकेटको पर्यटन व्यवसायमा रसियालीको हालीमुहाली, काम खोसिएको भन्दै स्थानीय आक्रोशित
Photo : Ahmet Cigsar / Getty Images


थाइल्यान्डको फुकेटमा अहिले स्थानीय व्यापारी रसियाली नागरिकसँग हैरान छन्। युद्धका कारण फुकेट पुगेका रसियालीहरुले व्यापारमाथि कब्जा जमाएपछि उनीहरु क्रुद्ध बनेका छन्।

Tata
GBIME

सन् २०२३ को जनवरीयता ४० हजारभन्दा बढी रसियालीहरु थाइल्यान्ड आएको सरकारी तथ्यांकमा देखिन्छ। यो संख्या युक्रेनसँग युद्ध हुनुभन्दा पहिलोभन्दा दोब्बर हो।

भदौ २४ गते रसिया र युक्रेन युद्धको २६३ दिन पुगिसकेको छ। युद्ध लम्बिँदै जाँदा युक्रेनको अर्थ व्यवस्था तहसनहस त भएकै छ, हजारौं रसियाली नागरिक पनि विदेश पलायन भएका छन्। विशेष गरी एसियाली देशहरुमा पर्यटक बनेर जाने र त्यही काम गर्ने प्रवृत्ति उनीहरुमा देखिएको छ।

थाइल्यान्ड पुगेका रसियालीहरुले लामो समयसम्म बसोबास गर्न पाउने गरी भिसा लिएका छन् भने त्यहाँ घरजग्गासमेत खरिद गरेका छन्। युद्धका कारण हुन सक्ने सम्भावित दुर्घटनाबाट बच्‍न उनीले त्यहीँ व्यापारसमेत थालेका छन्। कपाल काट्ने पसलदेखि ट्याक्सी कम्पनीसम्ममा उनीहरुले लगानी गरेका छ्न। जसको प्रत्यक्ष असर फुकेटका स्थानीयलाई परेको छ।

गत जुलाईमा रसियाका विदेश मन्त्री सर्जी लाभरोभ फुकेट पुगेर त्यहाँ नयाँ कन्सुलेट कार्यालयको उद्घाटन गरेका थिए। त्यो कार्यालय खोल्नुको कारण त्यहाँ बढ्दै गएको रसियालीहरुको उपस्थिति नै थियो।

फुकेटमा व्यापारका लागि रसियाली नागरिकहरुले रसियाली भाषामा नै संचालन हुने एप प्रयोगमा ल्याएका छन्। उनीहरुले गैर कानुनी रुपमा व्यापार चलाइरहेका छन्। रेड लाइट एरियामा पनि रसियालीहरुको उपस्थिति बढेको छ।

‘हामी यहाँ आएर पूरै पर्यटन व्यवसाय चलाउन खोज्‍ने रसियालीहरुबाट प्रभावित भएका छौं,’ फुकेट भ्यान ड्राइभर्स क्लबका अध्यक्ष प्रयुत थङमुसिकले भने।

उनका अनुसार रसियाली नागरिकहरुले दर्ता नभएको निजी गाडीलाई सार्वजनिक गाडीका रुपमा चलाइरहेका छन्। रसियाली एपबाट गाडी बुक गर्ने यात्रुहरुलाई चल्तीमा रहेको भाडा दरभन्दा २० प्रतिशत सस्तो मूल्यमा उनीहरुले सेवा दिइरहेका छन्।

‘उनीहरु चाहन्छन् की सबै पैसा रसियालीहरुसँगै रहोस्,’ थङमुसिकले भने।

फुकेटमा रसियालीहरुको बढ्दो उपस्थितिलाई लिएर त्यहाँका स्थानीयहरुले आक्रोश व्यक्त गर्न थालेका छन्। सामाजिक संजालमा उनीहरुले आफ्नो जागिर धरापमा परेको बताइरहेका छन्। पर्यटन व्यवसाय दर्ता गर्दा कागजपत्रमा थाइल्यान्डका नागरिकलाई मालिक देखाएर रसियाली लगानीकर्ताको उपस्थिति बढिरहेको भन्दै उनीहरुले चिन्ता व्यक्त गरिरहेका छन्।

‘रसियालीहरुले थाइ नागरिकको रोजगारी खोसिरहेका छन्। यसलाई नियन्त्रण नगरिए अवस्था भयावह हुन सक्छ,’ थाइल्यान्डका एक फेसबुक प्रयोगकर्ताले लेखेका छन्।

स्थानीयको आक्रोश बढ्दै गएपछि गत महिना प्रहरीले केही गैरकानुनी रुपमा फुकेटमा काम गरिरहेका रसियाली नागरिकहरुलाई पक्राउसमेत गरेको थियो।

‘हामीले ३ जना रसियाली नागरिकलाई पक्राउ गरेका छौं। स्थानीयले उजुरी दिएपछि यहाँ कपाल काट्ने पसल संचालन गरिरहेका उनीहरुलाई पक्राउ गरिएको हो। थाई नागरिकहरुले मात्रै गर्न पाउने काम गरिरहेकाले उनीहरुलाई पक्राउ गरिएको हो,’ एक प्रहरी अधिकारीले भने।

पर्यटन व्यवसायमा बढ्दो रसियाली प्रभावले फुकेटमा अपराध बढ्न सक्ने चिन्ता स्थानीयको छ। पछिल्लो समय व्यापार गरिरहेका रसियालीहरु अपराधिक क्रियाकपालमा संलग्न भएको घट्ना पनि फुकेटमा बढिरहेको छ। काम गर्न नपाएकाले नै रसियालीहरु अपराधमा संलग्न भएको पनि विश्लेषण गरिएको छ।

केही महिनाअघि इन्डोनेसियाको बाली पनि रसियालीहरुको प्रभाव बढ्न थालेपछि प्रशासनले कडा नियमहरु लागू गरेको थियो। युक्रेन र रसियाबाट आउने र गैरकानुनी रुपमा काम गर्नेको संख्या बढेपछि इन्डोनेसियाको प्रादेशिक सरकारले सरकारी स्वीकृति बिना काम गर्नेहरु विरुद्ध अभियान नै संचालन गरेको थियो।

सरकारले ‘टास्क फोर्स’ नै गठन गरेर पर्यटकहरुलाई गैरकानुनी काम नगर्दा अभियान चलाएको थियो। सो ‘टास्क फोर्स’ अन्तर्गत पक्राउ पर्ने सबैजना रसियाली नागरिक थिए। पछि इन्डोनेसियाले उनीहरुलाई ‘डिपोर्ट’ गरेको थियो। बालीमा पनि बाइक सिकाउने देखि ‘लोकल गाइड’ बनेर रिसियालीहरुले काम गरिरहेको व्यवासयी बताउँछन्।