बुढीगण्डकी ‘ख’ अर्धजलाशययुक्त आयोजनाका सरोकारवालासँग दोस्रोपटक राय माग

बिजमाण्डू
२०८० भदौ २३ गते ११:०८ | Sep 9, 2023
बुढीगण्डकी ‘ख’ अर्धजलाशययुक्त आयोजनाका सरोकारवालासँग दोस्रोपटक राय माग


काठमाडौं। प्रस्तावित २६० मेगावाटको बूढीगण्डकी ‘ख’ जलविद्युत आयोजनाको वातावरणीय प्रभाव मूल्यांकनको काम भइरहँदा सरकारको विद्युत विकास विभागले सरोकारवालासँग राय सुझाव माग्दै शनिबार दोस्रोपटक सूचना जारी गरेको छ। गोरखाको आरुघाट र धार्चे गाउँपालिका भएर बग्ने बूढीगण्डकी नदीको पानीको उपयोग गरी निर्माण प्रस्ताव गरिएको यो आयोजना अर्धजलाशययुक्त हो।

Tata
GBIME

आयोजना प्रवर्द्धक नौलो नेपाल हाइड्रोइलेक्ट्रिक प्रालि छ। आयोजना निर्माण हुँदा कुनै वातावरणीय असर पर्ने भए जानकारी दिन विभागले सरोकारवालालाई आग्रह गरेको छ।  

 आयोजनाको सम्भाव्यता अध्ययन प्रतिवेदन विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयबाट स्वीकृत भइसकेको छ। प्रस्तावित आयोजना निर्माण तथा सञ्चालन गर्दा आयोजना स्थलमा प्रतिकूल असर पर्ने भएमा विद्युत विकास विभाग वा उक्त कम्पनीको कार्यालयमा लिखित राय सुझाव/ प्रतिक्रिया पठाउन सकिने सूचना उल्लेख छ।

आयोजना प्रवर्धक विद्युत उत्पादन, प्रसारण तथा बिक्री वितरण गर्न २०६३ मा दर्ता भएको कम्पनी हो।

उसले कम्पनीले प्रस्ताव गरेको आयोजना दैनिक ६ घण्टाको दरले पिकिङ हुने गरी निर्माण गरिने अर्धजलाशययुक्त प्रकारको हो। जडित क्षमता २६० मेगावाट रहने छ। यसको डिजाइन बढ़ाव १४६.७९ घनमिटर प्रति सेकेन्ड र कुल हेड २०७ मि. रहने छ। आयोजनाबाट वार्षिक सरदर १३८९.९२ गिगावाट घण्टा विद्युत उत्पादन हुनेछ।

आयोजनाको मुख्य संरचनाहरू बूढीगण्डकी नदीको दायाँ किनारामा हुनेछन्। नदीमा बाँध बाँधेर खोलाको दायाँपट्टि निर्माण हुने इनटेकबाट पानी फर्काइ मुख्य संरचनाहरू हुँदै भूमिगत विद्युत गृहमा लगिने छ। विद्युत उत्पादनका लागि बूढीगण्डकी नदीको पानी फर्काउन बनाइने बाँधको लम्बाइ २४२ ७८ मिटर हुनेछ।

फाउन्डेसनदेखि २८.३ मिटर अग्लो रहने कंक्रिट बाँध बूढीगण्डकी नदीमा समुद्र सतहबाट ७६९.७ मिटर उचाइमा रहने छ। नदीमा बाँधदेखि करिब २.६४ किलोमिटर माथिसम्म पिकिङ प्रयोजनका लागि जलाशयको निर्माण हुनेछ। जलाशयको सतहको क्षेत्रफल करिब ४२ हेक्टर हुनेछ।

जलाशयमा करिब २.८५ मिलियन घनमिटर पानी सञ्चय गर्न सकिने छ। भूमिगत विद्युत गृहमा ३ वटा ८६.६७ मेगावाट क्षमताको भर्टिकल एक्सिस टर्बाइनहरूमा पानी खसाली ३ वटा जेनेरेटरमार्फत विद्युत उत्पादन गरिने छ।

 विद्युत उत्पादनपछि २४१.६ मिटर लम्बाइ ८ मिटर चौडाइ भएको टेलरेस टनेलबाट पानीलाई पुनः बूढीगण्डकी नदीमा पठाइने प्रस्तावमा छ। उत्पादित विद्युत ऊर्जालाई विद्युत गृह नजिकै बनाइने भूमिगत ट्रान्सफर्मर क्याभर्नमा जडान हुने पावर ट्रान्सफर्मरबाट आयोजनको स्विचयार्ड हुँदै करिब ३५ किलोमिटर लम्बाइको ४०० केभी डबल सर्किट प्रसारण लाइनमार्फत विद्युत प्राधिकरणको प्रस्तावित रातमाटे सब स्टेसनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गरिने छ।

प्रस्तावित आयोजनाको बाँध क्षेत्रभन्दा तल तथा विद्युत गृहभन्दा माथिको खण्डमा पाइने जीवजन्तु जलचर तथा बोटबिरुवाका लागि स्वीकृत वातावरणीय प्रभाव मूल्याङ्कन  अध्ययन प्रतिवेदनमा उल्लेख गरिए अनुसार कम्तीमा ३.०५ घनमिटर प्रतिसेकेन्ड बहावको पानी बूढीगण्डकी नदीमा निरन्तर छाड्ने प्रस्ताव गरिएको छ ।

यो आयोजना सन् २०८५ सम्ममा तयार भएर विद्युत उत्पादन हुने प्रस्तावमा छ ।