उदयपुर सिमेन्टका लागि नयाँ महाप्रबन्धकको खोजी‚ मन्त्रालयद्वारा दरखास्त आह्वान

बिजमाण्डू
२०८० भदौ २३ गते १०:२५ | Sep 9, 2023
उदयपुर सिमेन्टका लागि नयाँ महाप्रबन्धकको खोजी‚ मन्त्रालयद्वारा दरखास्त आह्वान


काठमाडौं। उदयपुर सिमेन्ट उद्योगमा सरकारले महाप्रबन्धक प्रतिष्पर्धाबाट छनोट गरेर नियुक्ति गर्ने भएको छ। यसका लागि उद्योग‚ वाणिज्य तथा आपूर्ति मन्त्रालयले शनिबार दरखास्त आह्‍वान गरेकाे छ।

Tata
GBIME
NLIC

योग्य नेपालीका नागिरकका लागि प्रकाशित सूचनाअनुसार २१ दिनभित्र कार्यालय समयमा यस मन्त्रालयको सरकारी उद्योग तथा संस्थान शाखा सिंहदरबार, काठमाडौँमा आवेदन दिन सकिने जनाइएको छ।

दरखास्त दिन योग्यता तथा अनुभवको हकमा सम्बन्धित सार्वजनिक निकायको कार्य प्रकृतिसँग सम्बन्धित विषय वा प्रशासन, व्यवस्थापन, अर्थशास्त्र, इन्जिनियरिङ वा कानूनमा मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरेको र कुनै संस्था वा निकायको व्यवस्थापकीय जिम्मेवारीको पदमा कम्तीमा पाँच वर्षको कार्य अनुभव भएको हुनुपर्ने तोकिएको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्बद्ध सार्वजनिक निकायमा पदाधिकारी नियुक्ति तथा मनोनयन सम्बन्धी निर्देशिका, २०७८ को दफा ४ बमोजिम अयोग्य नरहेको‚ दरखास्त दिने अन्तिम मितिसम्म उमेर ३५ वर्ष पुगेको र ६५ वर्ष ननाघेको हुनुपर्ने छ।  

निवेदकले दरखास्तका साथ मन्त्रालयको वेबसाइट www.moic.gov.np मा प्रकाशित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्बद्ध सार्वजनिक निकायमा पदाधिकारी नियुक्ति तथा मनोनयन सम्बन्धी निर्देशिका, २०७८ को अनुसूची २ बमोजिमको ढाँचामा दुई प्रति पासपोर्ट साइजको फोटो, शैक्षिक योग्यता, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, मन्त्रालयको वेबसाइटमा रहेको नमुना बमोजिमको स्वघोषणा फाराम, वैयक्तिक विवरण र सम्बन्धित निकायबाट प्रमाणित अनुभव खुल्ने कागजातका प्रतिलिपिहरूलाई उम्मेदवार स्वयंले प्रमाणित गरी पेस गर्नुपर्ने छ।

अनुभवको विवरण पेस गर्दा काम गरेको संस्थाको नाम, काम गरेको कुल समयावधि (वर्ष, महिना, दिन) समेत खुलाई स्वयंले प्रमाणित गरी पेस गर्नुपर्नेछ। दरखास्तसाथ उम्मेदवारहरूले उदयपुर सिमेन्ट उद्योगको सुधारसहित सु सञ्चालनका लागि बढीमा पाँच हजार शब्दको व्यावसायिक कार्ययोजना पनि बुझाउनु पर्ने सूचना उल्लेख छ।  

दरखास्त स्वीकृत भई छनोट सूचीमा परेका उम्मेदवारले आफूले पेस गरेको व्यावसायिक कार्ययोजना प्रस्तुति तथा अन्तर्वार्ताका लागि तोकिने स्थानमा उपस्थित हुनुपर्नेछ।

दरखास्त दस्तुर ५ हजार रुपैयाँ छ। सरकारी निकाय वा संस्थानमा सेवारत आवेदकको हकमा दरखास्तसाथ कार्यरत निकायबाट स्वीकृति प्रदान गरिएको पत्र पेस गर्नुपर्नेछ।

२०७७ पुस २० मा सरकारले उदयपुर सिमेन्ट उद्योगको महाप्रबन्धकमा गाेपीकृष्ण न्यौपानेलाई २ वर्षका लागि नियुक्त गरेको थियो। गत असोज ७ मा उनको पदावधि एक वर्ष थप गरेको थियो। थपिएको पदावधि पनि सकिन लागेपछि नयाँ नियुक्तिको प्रक्रिया अघि बढाइएको हो।