
काठमाडौं। पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले कीर्तिपुर नगरपालिका र स्वयंसेवक समाजको सहकार्यमा विश्व पर्यटन दिवसमा असोज १० गते सन्ध्याकालीन सम्पदा यात्रा आयोजना गरिने भएको छ।
पर्यटन र हरित लगानी अभियान अन्तर्गत रहेको कार्यक्रमका लागि यतिखेर म्यापिङको काम अगाडि बढिसकेको नगरपालिकाले जनाएको छ। डाँडामा अवस्थित कीर्तिपुरबाट उपत्यकाकै मनमोहक दृश्य देखिने हुँदा सन्ध्याकालीन पर्यटनको ठूलो सम्भावना रहेको जनाइएको छ।
यही सम्भावनालाई मध्यनजर गर्दै कीर्तिपुर नगरपालिकाले यो वर्षदेखि अभियानकै रुपमा सन्ध्याकालीन पर्यटन प्रवर्द्धन सुरु गरेको जनाएको छ।
पर्यटकले प्रायः नयाँ गन्तव्य पत्ता लगाउन डिजिटल नक्साको सहायता लिने भएको कारण म्यापिङ तयारी सुरु गरिएको नगरपालिकाले जनाएको छ। डिजिटल नक्सामार्फत कीर्तिपुरका आकर्षणहरू, सम्पदास्थलहरु, होटलहरू, रेस्टुरेन्टहरू र अन्य चासोका स्थालहरु सहजै पत्ता लगाउन सकिने जनाइएको छ।
कीर्तिपुर स्वयंसेवक समाजले बिहीबारबाट कीर्तिपुरको डिजिटल प्रवर्द्धन र नक्सामा ठाउँहरु, रुटहरु राख्न सुरु गरेको जनाएको छ।
नगरपालिकामा कीर्तिपुरका स्थानीय गाइडहरु, पर्यटनका विद्यार्थीहरु, स्थानीयहरुको सहभागितामा म्यापिङ जारी छ। स्वयंसेवक समाजका कार्यक्रम संयोजक रुपेन्द्र महर्जनका अनुसार म्याप अपडेट गर्ने, नयाँ जानकारी राख्ने कार्य कीर्तिपुर नगरपालिकाको सहयोगमा नियमित रुपमा गरिनेछ।
डिजिटल म्यापिङ एपमार्फत मौसम, ट्राफिक र स्थानीय घटना लगायत जानकारी लिन सकिने उनले जानकारी दिए।