काठमाडौं। अर्थमन्त्री डा. प्रकाशशरण महतले सेयर बजारमा गिरावटलाई सरकारले गम्भीर रुपमा लिएको बताएका छन्। अर्थमन्त्री महतले बिहिबार प्रतिनिधि सभामा सांसदहरुसँगको प्रश्नोत्तरका क्रममा लगानीकर्ताको रकम नडुबोस् भन्नेतर्फ सरकार सचेत रहेको बताए।
उनले बजारको विकासका लागि सरकारले नीतिगत, प्रक्रियागत र प्रणालीगत सुधार गर्ने जवाफ दिए। ‘अहिले सेयरको मूल्य गिरेको छ। त्यसका विविध कारण छन्। कारोबारमा राखिएका रेस्ट्रिक्सनले पनि घटेको हो,’ उनले भने, ‘बजारलाई सहज बनाउन सरकारका तर्फबाट हामी आवश्यक सम्वादमा छौं।’
राष्ट्र बैंकले साउन पहिलो साता मौद्रिक नीति सार्वजनिक गरेयता सेयर बजार सूचक २९५ अंकले घटिसकेको छ। अर्थमन्त्री महतले सेयर बजारमा अहिलेको गिरावटलाई अस्थायी भनेका छन्।
‘अर्थतन्त्रमा सकारात्मक संकेत देखिन थालेका छन्। अर्थतन्त्र चलायमान भएपछि सेयर बजारमा पनि सुधार आउनेछ। रेस्ट्रिक्सन खुकुलो बनाउनुपर्ने मागबारे पनि छलफल गरिरहेका छौं,’ उनले भने।
महतलाई सेयर बजारमा गिरावटलाई लिएर नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले प्रश्न सोधेका थिए। सुवालले विज्ञान, इन्जिनियरिङ, अन्तर्राष्ट्रिय सम्बन्ध लगायत विषयमा उच्च शिक्षा सकेकाहरु समेत सम्बन्धित क्षेत्रमा काम नगरी सेयर बजारमा लागेकाले मूल्य घटेको होइन भनी प्रश्न गरे। महतलाई अरु सांसदले भने प्रश्न सोधेनन्।