‘बुसान अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’का लागि छनोट भए तीनवटा नेपाली फिल्म

बिजमाण्डू
२०८० भदौ २० गते १४:१९ | Sep 6, 2023
‘बुसान अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’का लागि छनोट भए तीनवटा नेपाली फिल्म
Photo : Busan


काठमाडौं । ‘गाउँ आएको बाटो’ दक्षिण कोरियाको प्रसिद्ध ‘बुसान अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’मा समेत छनोट भएको छ।

Tata
GBIME

टोरन्टो अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको ४८औँ संस्करणमा पहिलो प्रदर्शनी गर्ने तयारीमा रहेको ‘गाउँ आएको बाटो’ ‘बुसान अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’मासमेत छनोट भएको हो।

‘विन्डो अन एसियन सिनेमा’ अन्तर्गत छनोट भएको चलचित्रलाई नवीन सुब्बाले निर्देशन गरेका हुन्।

सुब्बाले भने,’यसले हाम्रा चलचित्रलाई अन्तर्राष्ट्रियकरण गर्न सघाउने विश्वास छ।’

राई जातिको सामाजिक पृष्ठभूमिमा तयार भएको चलचित्रमा गाउँमा सडक आएपछि बाबुछोराको सम्बन्धमा आउने उतारचढावलाई नियाल्ने प्रयास गरिएको छ। चलचित्रमा दयाहाङ राई, पशुपति राई, प्रसन राई, केशव राई, सुमित्रा राई, राज थापा, प्रेम सुब्बालगायत कलाकारले अभिनय गरेका छन्।

सोही महोत्सवमा सौरभ राईले निर्देशन गरेको ‘गुराँस’ पनि छनोट भएको छ। चेक रिपब्लिकको ‘कार्लोभी भारी अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ मा प्रिमियर भएको चलचित्रमा हराएको कुकुरको खोजीमा निस्किएकी १० वर्षीया बालिकाको आँखाबाट कथा प्रस्तुत गरिएको छ।

दार्जिलिङको बदलिँदो आर्थिक र सामाजिक सम्बन्धलाई समेत प्रस्तुत गरिएको चलचित्रको लेखन निर्देशन राई नै गरेका हुन्।

चलचित्रमा तुलसी खवासले ‘गुराँस’को शीर्ष भूमिका निर्वाह गरेका छन् भने खगेन्द्र लामिछानेले पिताको भूमिकामा छन्। अभिनेता लामिछानेले विश्वले नेपालको मौलिक कथा हेर्न चाहेको बताए।

उनले भने,’हाम्रो चलचित्र अन्तर्राष्ट्रिय महोत्सवमा छनोट हुनुनै हाम्रो मौलिकता त्यहाँ रुचाइनु हो। अहिले भेनिस, बुसान र टोरोन्टो जस्तो विश्वकै प्रसिद्ध महोत्सवमा हाम्रा चलचित्र छन्। यो गौरवको विषय हो।’

उनले निजी पहलमा प्राप्त भइरहेको उपलब्धिमा सरोकारवाला निकायले सहायता गर्नुपर्नेमा जोड दिए।

यस्तै, नीरञ्जन भेटवालले निर्देशन गरेको लघु चलचित्र ‘दि विटनेस ट्री’ पनि बुसानमा छनोट भएको छ। यो एसियाली लघुचलचित्र विधामा छानिएको हो।

दक्षिण एसियामा प्रतिष्ठित मानिने बुसानको नयाँ संस्करण असोज १७ देखि २६ सम्म चल्नेछ।