इभीका लागि प्राधिकरणका ५१ वटा फास्ट चार्जिङ स्टेसन सञ्चालनमा, एक घन्टाभित्रै फुल चार्ज

बिजमाण्डू
२०८० भदौ २० गते ११:२८ | Sep 6, 2023
इभीका लागि प्राधिकरणका ५१ वटा फास्ट चार्जिङ स्टेसन सञ्चालनमा, एक घन्टाभित्रै फुल चार्ज


काठमाडौं। नेपाल विद्युत प्राधिकरणले विद्युतीय गाडीका लागि देशभर ५१ वटा फास्ट चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको छ। उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्ति बस्नेत र प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले बुधबार चार्जिङ स्टेसन उद्‍घाटन गरे।

Tata
GBIME

प्राधिकरणले एसियाली विकास बैंकको ३७ करोड ७९ लाख रुपैयाँ सहुलियत ऋण सहयोगमा यी चार्जिङ स्टेसन निर्माण गरेको हो।

काठमाडौं उपत्यकामा सात वटा चार्जिङ स्टेसन सञ्‍चालनमा छन्। धादिङको मलेखुमा दुईवटा तथा वीपी राजमार्गमा दुईवटा चार्जिङ स्टेसन निर्माण गरिएको छ।

हेटौंडा र भरतपुरमा दुई दुई वटा, मुग्लिन/कुरिनटारमा ४ वटा तथा बनेपामा एउटा चार्जिङ स्टेसन सञ्‍चालनमा छन्।

यसैगरी वीरगंज, बाराको सिमरा, रौतहटको चन्द्रनिगाहपुर, महोत्तरीको बर्दिवास, सप्‍तरीको राजविराज, धनुषाको ढल्केबर र जनकपुरधाममा एक एक वटा चार्जिङ स्टेसन सञ्‍चालन ल्याइएको छ।

यस्तै नवलपुर, दमौली र स्याङ्जामा एक एक वटा तथा पोखरामा तीन वटा चार्जिङ स्टेसन निर्माण गरिएको छ। पश्‍चिम नवलपरासी, नेपालगञ्ज र सुर्खेतमा एक एक वटा, दाङमा दुईवटा तथा बुटवलमा तीन वटा चार्जिङ स्टेसन सञ्‍चालनमा आएका छन्।

प्राधिकरणले झापाको दमक, भद्रपुर र कन्काई, मोरङको विराटनगर र सुनसरीको इटहरीमा चार्जिङ स्टेसन निर्माण गरेको छ।

प्राधिकरणका अनुसार चार्जिङ स्टेसनमा राखिने चार्जर १४२ किलोवाट क्षमताको छ। नेपालमा उपलब्ध रहेका सवारीसाधनको ब्याट्रीको क्षमता अनुसार आधादेखि एक घण्टासम्ममा फुल चार्ज गर्न सकिनेछ।

धनगढी, महेन्द्रनगर र डडेल्धुरामा एक एक वटा चार्जिङ स्टेसन सञ्‍चालनको तयारीमा छन्।

हरेक चार्जिङ स्टेसनमा १४२ किलोवाट क्षमताको चार्जर, विद्युत आपूर्तिका लागि ५० केभीएको ट्रान्सफर्मर र अनलाइन बिलिङ प्रणाली जडान गरिएको छ। छिटो चार्ज गर्न मिल्ने ६०-६० किलोवाटका डिसी र २२ किलोवाटका एसी चार्जर राखिएका छन्। यसबाट ठूला बससहित तीन वटा सवारी साधमा एक साथ चार्ज गर्न सकिन्छ।

५१ वटै स्टेसनको कन्ट्रोल काठमाडौंबाट हुनेछ । सवारीसाधन चार्ज गरिसकेपछि ग्राहकले क्युआर कोड र मोबाइल एपमार्फत बिल भुक्तानी गर्न सक्नेछन्। निजी क्षेत्रका सबै प्रकारका चार्जिङ स्टेसन प्राधिकरणको प्रणालीमा अनिवार्य जोडिनुपर्ने व्यवस्था छ।

प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङले अझै ११ वटा चार्जिङ स्टेसन निर्माणको तयारीमा रहेको बताए। उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बस्नेतले चार्जिङ स्टेसनको निर्माणले अब विद्युतीय गाडीको प्रयोग अझै बढ्ने र यसले विद्युतको खपत बढाउन सहयोग पुग्ने बताए।

उनले चार्जिङ स्टेसन निर्माणमा निजी क्षेत्रलाई सहजीकरणका लागि केही नीतिगत व्यवस्था संशोधन गर्न लागेको जानकारी दिए। निजी क्षेत्रले देशभर करिब १०० वटा फास्ट चार्जिङ नेटवर्क निर्माण गरेर सञ्चालनमा ल्याइसकेको छ।