चितवन निकुञ्जमा कालोपत्रे सडक निर्माण हुँदै, वन्यजन्तुका गतिविधिको क्यामरा ट्रयापिङपछि डीपीआर



बिजमाण्डू
२०८० भदौ १७ गते ०९:०६ | Sep 3, 2023
चितवन निकुञ्जमा कालोपत्रे सडक निर्माण हुँदै, वन्यजन्तुका गतिविधिको क्यामरा ट्रयापिङपछि डीपीआर
File Photo

भरतपुर । चितवन राष्ट्रिय निकुञ्जमा कालोपत्रसहितको सडक निर्माणका लागि विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) र वातावरणीय प्रभाव मूल्यांकन (इआइए) को काम अघि बढाइने भएको छ।

Tata
GBIME
Zonsen

वन मन्त्रालय, हुलाकी सडक आयोजना, निकुञ्ज र जनप्रतिनिधिको टोलीले शुक्रबार स्थलगत निरीक्षण गरेपछि ती प्रक्रिया सुरु गर्न लागिएको हो। डीपीआर बनाउन भरतपुरको धुरवघाटबाट माडीको रिउसम्म वन्यजन्तुको आवतजावत हुने क्षेत्र निर्धारण गर्न ट्रयापिङ क्यामेरा जडान गरेर गतिविधिको अवस्था यकिन गरिने भएको छ। १५ देखि २१ दिनको क्यामेरा ‘ट्रयापिङ रिपोर्ट’का आधारमा ती काम गरिने छ।

यसै आधारमा डीपीआर निर्माण गर्दा ‘अन्डरपास’ र ‘फ्लाइओभर’ बनाउने क्षेत्र निर्धारण गरिने हुलाकी राजमार्ग आयोजनाका निर्देशक शुभराज न्यौपानेले जानकारी दिए।

‘इआइएका लागि यसअघि नै वन मन्त्रालयले स्वीकृत दिएको छ‚’ उनले भने, ‘डीपीआर गर्नका लागि निकुञ्जलाई आइतबार पत्र पठाउँछौं।’

उनले निकुञ्जबाट स्वीकृत प्राप्त गरेको पत्र आउनासाथ सर्भेको काम अघि बढ्ने बताए। भरतपुर-२९ को धुरवघाटबाट माडीको रिउसम्मको क्षेत्रमा प्रारम्भिकरूपमा सर्भे गरिनेछ।

निकुञ्जले क्यामेरा ट्रयापिङमार्फत वन्यजन्तुको आवतजावको रेकर्ड उपलब्ध गराएपश्चात त्यही डाटाका आधारमा डिजाइनको काम अघि बढ्ने निर्देशक न्यौपानेले बताए।

‘चितवन निकुञ्जमा सामान्य डिजाइनले हुँदैन‚’ उनले भने, ‘यो संसारको आँखा हेर्ने गरिएको ठाउँ हो,’ उनले भने।

सर्भे, डिजाइन र इआइएको काम सकिएपछि मात्र लगानीको स्रोत जुटाएर निर्माणको काम अघि बढ्ने उनले बताए। डीपीआर निर्माणका लागि ८ महिनादेखि एक वर्षसम्म लाग्ने उनले जानकारी दिए। डीपीआरको काम सकेपछि इआइए गरिनेछ।

भरतपुरको धुरवघाटबाट माडी ठोरीसम्मको हुलाकी सडकको एकीकृतरूपमा अध्ययन र सर्भे गरिने उनले जानकारी दिए। डीपीआर र इआइए तयारीपछि केन्द्रमा प्रस्तुतीकरण गर्ने र डीपीआर पारित गर्न युनेस्कोमा पठाइने छ।

भरतपुरबाट माडी प्रवेश गर्दा चितवन राष्ट्रिय निकुञ्जको ९ किलोमिटर जंगल पार गर्नुपर्छ। कसराबाट वनकट्टासम्म (राप्ती–रिउ) कच्ची सडक छ। हाल कसरास्थित राप्ती नदीको पुलदेखि ध्रुवघाट हुँदै वनकट्टास्थित रिउ नदीको पुलसम्म जाने सडक कालोपत्र बन्ने सम्भावना कम रहेको भन्दै विकल्पमा ध्रुवघाटबाट वनकट्टासम्मको सडक अघि बढाउन लागिएको हो। यो सडक झन्डै चार किलोमिटर छोटो हुनेछ।

वन तथा वातावरण मन्त्रालयले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पहिलेकै बाटो संचालनमा ल्याउने गरी वातावरणीय इआइए प्रतिवेदन तयार गर्न सहमति दिएको छ।

निकुञ्जका सूचना अधिकारी सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले जैविक विविधता संरक्षणका दृष्टिले ध्रुवघाट–वनकट्टा सडक उपयुक्त हुने भनेर इआइए गर्न सहमति दिएपछि सबै सरोकारवाला निकायले उक्त क्षेत्रको अनुगमन गरेको बताए।

उनले न्यूनतम विधि, प्रक्रिया पूरा गरेर वन्यजन्तुमैत्री सडक निर्माणका लागि निकुञ्ज बाधक नरहेको बताए। उनले वन्यजन्तु आवतजावत गर्ने क्षेत्रको जानकारीका लागि निकुञ्जले करिब २० जोडी क्यामेरा राख्ने तयारी गरेको जानकारी दिए। कसरा–वनकट्टा खण्डभन्दा चार किलोमिटर छोटो हुने, जैविक विविधतामा कम असर गर्ने भएकाले ध्रुवघाट–वनकट्टालाई प्रस्ताव गरिएको उनले बताए।