
काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले हामीले हेरेका र देखेका सामाजिक रुपान्तरणदेखि राजनीतिक क्रान्तिसम्म रंगमञ्चको मुख्य भूमिका रहिआएको बताएकी छिन्।
नाट्यकर्मी महासंघ नेपालको दोस्रो केन्द्रिय महाधिवेशन उद्घाटन समारोहमा उनले समाजको यथार्थलाई कथाका माध्यमबाट दिशानिर्देश गर्न सक्ने बलियो आधारका रुपमा रंगमञ्च रहेको धारणा राखेकी हुन्।
‘जुन सन्देश बोली, बचन, लेखेर दिन सकिन्न, त्यो सन्देश नाटकको माध्यम्बाट बुलन्दरुपमा सजिलै दिन सकिन्छ। नेपाली समाजमा परम्परादेखि नै रंगमञ्चको बेग्लै विशिष्टता महत्व रहिआएको छ। रंगमञ्चले समाजलाई ऐना देखाइरहेको मात्र नभइ समाजको ऐना पनि बनिरहेको हुन्छ, समाजलाई आज हामी कुन बाटोमा लैजाँदै छौं। भोलि कुन दिशातर्फ लग्ने हो भन्ने मार्गदर्शन गर्न पनि रंगमञ्चको विशिष्ट भूमिका हुन्छ,’ उनले भनिन्।
सो अवसरमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमुनि हर्तम्छालीले सविधान र कानुनको मर्म र भावना अनुरुप सबै जातजाती एवं समुदायलाई सामाजिक रुपान्तरणका लागि सन्देश दिने ढंगबाट रंगमञ्चले सन्देश प्रवाह गर्न सक्नुपर्ने विचार प्रकट गरेका थिए।
कार्यक्रममा रंगमञ्च एवं संस्था स्थापनाका लागि विशिष्ठ योगदान पुर्याएका नाट्यकर्मी महासंघ नेपालका पूर्वअध्यक्ष एवं वरिष्ठ नाट्यकर्मी विजय विस्फोटक र महासंघका संस्थापक बैकुण्ठ भण्डारीलाई सम्मान गरिएको थियो।