माओवादीको रुपान्तरण अभियान भोलिदेखि, ४ वर्षपछिको चुनावको नतिजा आफ्नो पक्षमा पार्ने लक्ष्य

बिजमाण्डू
२०८० भदौ १५ गते १४:०० | Sep 1, 2023
माओवादीको रुपान्तरण अभियान भोलिदेखि, ४ वर्षपछिको चुनावको नतिजा आफ्नो पक्षमा पार्ने लक्ष्य
File Photo


काठमाडौं। माओवादी केन्द्रले रुपान्तरण अभियान सुरु गर्ने भएको छ। उसले ‘जनतासँग माओवादी’ नाममा शनिबारदेखि रुपान्तरण अभियान सञ्चालन गर्ने भएको हो।

Tata
GBIME
NLIC

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भर्चुअल माध्यमबाट देशभर एकसाथ अभियान सुरु भएको घोषणा गर्ने तयारी छ। माओवादीले २०८४ को प्रतिनिधि सभा र प्रदेशसभा सदस्य निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्ने मुख्य लक्ष्यसहित अभियान सञ्चालन गर्न लागेको बताएको छ।

जनताको ‘मन जितेर मत प्राप्त’ गर्ने अभियानको उद्देश्य छ। गत साउन तेस्रो साता काठमाडौंमा बसेको केन्द्रीय समितिको चौथो पूर्ण बैठकले अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो।

अभियानअन्तर्गत सरकारले गरेका भ्रष्टाचार नियन्त्रण, सुशासन प्रवर्धन लगायत कामको प्रचारप्रसार गर्ने, पार्टीभित्रको समस्या पहिचान गर्ने पार्टीका प्रचार विभाग प्रमुख अग्निप्रसाद सापकोटाले जानकारी दिए। कम्तीमा २५ लाख मतदातासँग प्रत्यक्ष भेट गरी सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायका क्षेत्रमा गरेका कामबारे जानकारी गराइने उनको भनाइ छ।

अभियानका लागि पार्टी केन्द्रीय सदस्य, आयोग सदस्य र सल्लाहकार सदस्यको नेतृत्वमा पालिकास्तरको टोली निर्माण गरिएको छ। टोलीले पालिका, वडा र टोलस्तरसम्म कार्यक्रम सञ्चालन भनिएको छ। अभियान कात्तिकसम्म सञ्चालन हुनेछ। अभियान सञ्चालनका लागि माओवादीले सबै पदाधिकारीको कार्यविभाजन गरी प्रदेश संयोजक तोकेको छ।