सांघाइ। चार दिने चीन भ्रमणलाई बिट मार्ने क्रममा अमेरिकी वाणिज्य मन्त्री गिना राइमन्डो बिहीबार सांघाइस्थित बोइङको मेन्टेनेन्स ह्याङगरको भ्रमण गरिन्। भ्रमणका क्रममा वाणिज्य मन्त्री राइमोन्डोले बेइजिङ र सांघाइमा उच्चस्तरीय भेटवार्ता गरिन्।
यी भेटमा दुई देशबीचको व्यापार सम्बन्ध एक अर्का देशको लागि मात्र नभई समग्र विश्वकै लागि लाभदायी भएको दुबै पक्षले बताएका छन्। तर, अमेरिकाले चीनमाथि लिएको डिकपलको नीतिले सम्बन्ध सोचे अनुरूप सहज दिशामा अगाडि बढ्न सकिरहेको छैन।
व्यापार युद्ध तीव्र रूपमा अगाडि बढाइरहेका चीन र अमेरिका संवादको टेबलमा त छन् तर उनीहरू एक अर्कामाथि प्रतिबन्धका हतियार प्रयोग पनि गरिरहेका छन्।
सांघाइमा बोइङको मर्मत ह्याङगरमा भ्रमण गरेसँगै वाणिज्य मन्त्री राइमोण्डोले बोइङलाई ‘आइकनिक’ अमेरिकन कम्पनी बताउँदै साझेदारीको सम्भावनाबारे छलफल भएको बताइन्। चिनियाँ उपप्रधानमन्त्री ह लिफङसँग ‘स्पेस कमर्स’मा साझेदारीको सम्भावनाबारे छलफल गरेकी थिइन्। हवाइ क्षेत्रमा ठूलो बजार चीनलाई आगामी वर्षमा अधिक विमानको आवश्यक छ। हाल चिनियाँ हवाई क्षेत्रमा अमेरिकन बोइङ र युरोपेली एयरबस बीचको प्रतिस्पर्धा छ।
हाल बोइङको ४९ प्रतिशत हिस्सा रहेको चिनियाँ आकाशमा अमेरिका पकड बढाउन चाहन्छ। सन् २०४१ सम्म चीनलाई ८ हजार ४८५ विमान आवश्यक पर्ने कम्पनीको विश्लेषण छ। चीन अमेरिका टेक वारका कारण चीनमा बोइङको व्यवसाय प्रभावित छ। सन् २०१९ मा बोइङको ७३७ म्याक्स इन्डोनेसिया र इथियोपिया एयर दुर्घटनापछि चीनले सबै बोइङ ७३७ म्याक्सलाई ग्राउन्डेड गरेको छ।
त्यसयता एयरबसको वाइडबडीको बजार चीनमा २६ प्रतिशतले बढेको छ। यही जनवरीमा मात्र चीनले बोइङ म्याक्समाथि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ। चिनियाँ हवाइ क्षेत्रका लागि आवश्यक पर्ने विमान उपलब्ध गराउन बोइङ र एयर बसले मात्र सक्नेछन्।
यद्यपि बोइङको बजार चीन-अमेरिका सम्बन्धले समेत प्रभावित पार्ने छ। बोइङले त्यसका लागि व्यापार कूटनीतिलाई अगाडि बढाएको छ। त्यसैको कडीस्वरूप वाणिज्य मन्त्री राइमोन्डोलाई सांघाइको ह्याङगरको भ्रमण गरायो।
व्यापार युद्ध चर्किरहेको अवस्थामा पछिल्लो तीन महिनामा बाइडेन प्रशासनका चार उच्च अधिकारीले बेइजिङको भ्रमण गरिसकेका छन्। तर, बेइजिङबाट वासिङटनका लागि उच्चस्तरीय भ्रमण हुन सकेको छैन। संवाद अगाडि बढाइरहेको अमेरिकाले चीनमाथि एकपछि अर्को प्रतिबन्ध लगाइरहेको छ। यस्तोमा बोइङको चिनियाँ बजारको भविष्य कूटनीतिले निर्धारण गर्ने छ।