प्रधानमन्त्रीको चीन भ्रमणमा आर्थिक करिडोरको मुद्दा प्राथमिकतामा, सुरुङमार्गदेखि राजमार्ग निर्माणको प्रस्ताव गरिँदै

शुक्र गिरी
२०८० भदौ १४ गते ०९:२९ | Aug 31, 2023
प्रधानमन्त्रीको चीन भ्रमणमा आर्थिक करिडोरको मुद्दा प्राथमिकतामा, सुरुङमार्गदेखि राजमार्ग निर्माणको प्रस्ताव गरिँदै


काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल यही असोजको पहिलो साता चीन भ्रमणमा जाने तयारीमा छन्। भारतपछि हुन लागेको चीन भ्रमणमा प्रधानमन्त्रीमाथि विभिन्न मुद्दाहरु उठाउन दबाब छ। बेइजिङमा चिनियाँ राष्ट्रपति सि चिनफिङसँग प्रचण्डको टोलीले सुरुङमार्गदेखि आर्थिक राजमार्ग कनेक्टिभीटीका प्रस्ताव राख्ने तयारी गरेको छ।

Tata
GBIME

हिल्सा-सिमिकोट जोड्ने कर्णाली करिडोर र खाँदबारी किमाथांका जोड्ने कोशी करिडोर निर्माणको लागि नेपालबाट प्रस्ताव राख्न तयारी भइरहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय स्रोतले जानकारी दिएको छ। यो परियोजनालाई सरकारले आर्थिक करिडोरको रुपमा लिएको छ। स्रोतका अनुसार यी राजमार्गहरु कालोपत्रे गर्न चीन सरकारसँग प्रस्ताव गर्न लागिएको हो।

कोशी आर्थिक करिडोर अन्तर्गत किमाथांका- लेगुवाघाट सडक खण्ड निर्माणमा सहयोग गर्ने वचन राष्ट्रपति सीको नेपाल भ्रमणको क्रममा चीनले दिएको थियो।

नेपाल- चीन सीमा नाकाहरुमध्ये कोशी करिडोर अन्तर्गत किमाथांका हुँदै आउने सडकमार्गलाई हिमपातले असर गर्न नसक्ने र बाह्रै महिना यातायातका साधन संचालन हुने सडक खण्ड मानिएको छ। त्यही कारण नेपालको प्रस्ताव अनुसार सो सडकखण्ड निर्माणका लागि चीन पनि सकारात्मक देखिएको मन्त्रालय स्रोतले जनाएको छ।

‘यी सबै परियोजनाहरु अनुदानमा गरिदिन चीनलाई प्रस्ताव गर्ने सरकारको तयारी छ,’ स्रोतले भन्यो, ‘ यी सबै परियोजनामा चीनले सम्झौता गर्छ भन्ने पनि निश्चित छैन।’

प्रचण्डको चीन भ्रमणका क्रममा अरनिको राजमार्गमा रहेको धुलिखेलदेखि कोदारीसम्म सडकलाई चार लेनमा विस्तार गरेर कालोपत्रे गर्न प्रस्ताव गर्ने गरी तयारी पनि भइरहेको छ। यसैगरी टोखा-छहरे सुरुङमार्ग निर्माणको लागि विस्तृत परियोजना प्रतिवेदन(डीपीआर) तयार पार्न पनि प्रस्ताव गरिने तयारी भइरहेको छ। सरकारले लगानी पर्याप्त जुटाउन नसक्दा यी आयोजनाहरु अघि बढ्न सकेको छैन। यो सुरुङमार्ग निर्माण गर्ने भनेर अहिलेसम्म नेपाल र चीनबिच सम्झौता हुन सकेको छैन।

यस विषयमा केही महिना अगाडि अर्थमन्त्री डा. प्रकाशशरण महत र चिनियाँ राजदूत छन् सोङबीच छलफल भएको थियो। उक्त सुरुङमार्ग छिट्टै निर्माण चरणमा प्रवेश गर्ने विषयमा उनीहरुबीच कुराकानी भएको थियो।

यसका लागि चालु आर्थिक वर्षको बजेटमा समेत अर्थमन्त्रीले १ अर्ब बजेट छुट्याइसकेका छन्। अर्थमन्त्रीको आफ्नै जिल्लामा काम नै सुरु नभएको आयोजनामा यति धेरै बजेट छुट्याइएको भन्दै अर्थमन्त्री विवादित समेत बनेका थिए।

सडक विभागले गरेको अध्ययन अनुसार सो सुरुङमार्ग ४.२ किलोमिटर लम्बाईको छ। यसको निर्माण लागत लगभग ११ अर्ब रुपैयाँ लाग्ने अध्ययनले देखाएको थियो।

स्रोतका अनुसार एक मन्त्रीको आग्रहमा खुटिया- दिपायल सुरुङमार्ग निर्माणको लागि पनि प्रस्ताव लगिने तयारी भएको छ। यसका लागि सडक विभाग अन्तर्गतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले सम्भाव्यता अध्ययन पनि सम्पन्न गरेको छ।

यस्तै, चक्रपथ विस्तारको दोस्रो खण्डको निर्माण काम छिट्टै सुरुवात गर्न पनि आग्रह गर्ने तयारी सरकारको छ। चार वर्षदेखि नेपालले ‘साइट क्लिरेयन्स’ गर्न नसक्दा निर्माण काममा चिनियाँ टोली आउन मानेको थिएन। पछिल्लो समय नेपालले साइट क्लिरेयन्स सम्पन्न गरिसकेको छ। तर डिजाइनको कुरामा नेपाल र चिनियाँ पक्षबीच अलमल भइरहेको छ।

प्रचण्डको बेइजिङ यात्रा यसअघि भएका सम्झौता कार्यान्वयनमा पनि जोड पनि केन्द्रित हुनेछ।