
काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)ले आफ्नो आम्दानी ८३ प्रतिशतले बढाएको छ। क्यानले गत आर्थिक वर्ष १३ अर्ब ३९ करोड ६५ लाख रुपैयाँ कमाएको हो। उसको आम्दानी अघिल्लो आर्थिक वर्ष ७ अर्ब ३३ करोड रुपैयाँमा सीमित थियो।
क्यानले अनुमान गरे अनुसार भने आम्दानी नभएको जनाएको छ। उसले गत आर्थिक वर्ष १४ अर्ब ३२ करोड ३७ लाख रुपैयाँ आम्दानी हुने अनुमान गरेको थियो। क्यानले अनुमान गरेभन्दा साढे ६ प्रतिशत कम कमाएको हो। कोभिडको वर्ष २०७७/७८ मा क्यानको कमाइ २ अर्ब ९२ करोड रुपैयाँमा सीमित भएको थियो।
हवाइ उडान बढेका कारण आफ्नो आम्दानी बढेको क्यानका प्रवक्ता जगन्नाथ निरौलाले बताए। यस्तै १५ महिनाअघि लागू विमानस्थल सेवा शुल्क सम्बन्धी नयाँ नियमावलीका कारण पनि क्यानको आम्दानी बढेको हो।
कोभिडयताको चार वर्षमा क्यानले कुनै वर्ष पनि अनुमान अनुसार आम्दानी गरेको छैन। यो ४ वर्षमा अनुमान गरेभन्दा १६ अर्ब ४९ करोड ७७ लाख रुपैयाँ कम आम्दानी भएको क्यानले जनाएको छ।
अन्तर्राष्ट्रिय हवाइ यात्रुको संख्या कोभिडअघिको अवस्थामा नफर्किएकाले अनुमान अनुसार कमाइ नभएको प्रवक्ता निरौलाले बताए।

विमानस्थलमा ल्याण्डिङ, पार्किङ, नेभिगेसन, ग्राउण्ड ह्याण्डलिङ, कार्गो, इन्धन, रेन्टल, रोयल्टी आय क्यानका आम्दानीका प्रमुख स्रोत हुन्। त्रिभुवन विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय गरी दैनिक करिब २५० उडान अवतरण हुँदै आएको छ।