आँखा पाक्ने रोगमा प्रयोग हुने औषधिको अभाव नभएको विभागको दाबी, बजारको हल्ला भ्रामक

बिजमाण्डू
२०८० भदौ १३ गते १६:०९ | Aug 30, 2023
आँखा पाक्ने रोगमा प्रयोग हुने औषधिको अभाव नभएको विभागको दाबी, बजारको हल्ला भ्रामक


काठमाडौं । औषधि व्यवस्था विभागले आँखा पाक्ने रोग (भाइरल कन्जङ्क्टिभाइटिस) मा प्रयोग हुने औषधिको अभाव नभएको जनाएको छ।

Tata
GBIME

आँखा पाक्ने रोगका बिरामी बढेपछि केहीले औषधि अभावको हल्ला फिजाए पनि पर्याप्त मात्रामा औषधि भएको विभागको भनाइ  छ।

विभागका महानिर्देशक नारायणप्रसाद ढकालले आँखा पाक्ने रोगको औषधि पर्याप्त मात्रामा रहेको जानकारी दिए।

‘आँखा पाक्ने संक्रमण बढेसँगै केहीले औषधिको अभाव छ भनेर हल्ला फिजाएर कालाबजारी गर्न खोजेको देखिन्छ’, उनले भने, ‘तर हामीसँग पर्याप्त मात्रामा आँखामा पाक्ने औषधि ‘आई ड्रप’ छ। आँखा अस्पताल र अस्पताल अगाडि रहेका औषधि पसलमा यो औषधि पाइन्छ।’

एभरेष्ट पारान्टेरलल्सका संचालक उमंग रानासरियाले पनि आँखा पाक्ने संक्रमण बढे पनि औषधिको अभाव हुन नदिएको बताए ।

‘संक्रमण बढेसँगै औषधिको माग बढेको छ। तर हामीले बढेको माग बमोजिम आपूर्ति गरिरहेका छौं’, उनले भने, ‘आँखा अस्पतालमा हामीले प्रशस्त मात्रामा औषधि उपलब्ध गराएका छौं।’

संचालक रानासरियालका अनुसार माग बढेसँगै अहिले उत्पादन पनि तीन गुणा बढी भइरहेको छ। अहिले मासिक ९० हजार भाइल औषधिउत्पादन गरिरहेको उनको भनाइ थियो।

नेपाल औषधि उत्पादक संघका अध्यक्ष प्रज्वलजंग पाण्डेले आँखामा हाल्ने ‘आई ड्रप’को अभाव हुन नदिन र मागअनुसार आपूर्ति भइरहेको बताए।

आँखा पाक्ने रोगका लक्षणहरू आँखा रातो हुनु र चिलाउनु, आँखाबाट आँसु बगिरहनु वा कचेरा-चिप्रा लाग्नु, आँखाको ढकनी रातो हुनु, सुन्निनु, आँखा बिझाउनु-दुख्नु र घाममा वा उज्यालोमा हेर्न गाह्रो हुनुजस्ता समस्या भाइरल ‘कन्जङ्क्टिभाइटिस’ मा हुने गर्दछ।

भाइरल ‘कन्जङ्क्टिभाइटिस’को संक्रमण भएपछि जथाभावी आँखा नछुने, आँखा छुनु परेमा साबुन पानीले राम्ररी हात धुने गर्नुपर्दछ।

यस्तै बाहिर घाममा निस्कँदा कालो चस्मा प्रयोग गर्ने, संक्रमित व्यक्तिले प्रयोग गरेका  सामान अन्य व्यक्तिलाई प्रयोग गर्न दिनुहुँदैन।